गएको माघ तेस्रो साता म्यान्मारको बाटो हुँदै विभिन्न अरब मुलुकमा पठाइन लागेको अवस्थामा पूर्वोत्तर भारतको मणिपुर राज्यका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा नेपालीहरूको उद्धार गरियो।नेपाल र भारतमा अवैध मानव ओसारपसारविरुद्ध काम गर्ने गैरसरकारी संस्थाहरूको पहलमा भारतीय प्रहरीले उनीहरूको उद्धार गरेको थियो।उद्धार गरिएकामा ३२ पुरुष र १ सय ४७ महिला गरी १७९ जना नेपाली थिए।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार हाल धेरैजसो अवैध मानव ओसारपसारको घटना वैदेशिक रोजगारीका नाममा हुने गरेको छ।
पछिल्ला वर्षमा भने दलालहरूले इन्टरनेट र स्मार्टफोनको प्रयोग गरेर पीडितलाई मात्रै नभइ प्रहरीलाई समेत झुक्याउने गरेको अधिकारीहरू बताउँछन्।
प्रहरी प्रवक्ता सुवेदी भन्छन्, “अचेल सबैभन्दा धेरै सामाजिक सञ्जालको प्रयोग भएको देखिन्छ। त्यसले दलालहरूको खोजीलाई थप जटिल बनाइदिएको छ।”
उनका अनुसार नेपालबाट विभिन्न मुलुकमा देहव्यापारका लागि विक्री गरिएका महिलाहरूलाई समेत सामाजिक सञ्जालबाट फसाइएको पाइएको छ।
उनले भने, “सामाजिक सञ्जालमा फेक आइडी बनाएर युवतीसँग सम्पर्क स्थापित गर्ने अनि उनीहरूलाई फोटो सेसन गरेर तस्वीर पठाउन लगाउने तर त्यही तस्वीर विदेशमा रहेको दलालाई पठाउने गरेको पनि पाइएको छ।”कतिपय अवस्थामा त्यसरी पठाइएका तस्वीर हेरेर यौन व्यवसायका लागि नेपाली महिलाको छनोट हुने गरेको उनले बताए।