काठमाडौं- कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए पनि दुई साता पहिले दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् । मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ । युवकका दाजु औषधि किन्न भन्दै निस्के । त्यसपछि फर्किएका छैनन् । मानसिक अस्पतालमै दुई महीना भर्ना भएका अर्का एक व्यक्तिलाई पनि उनका छोराले अस्पतालमै छाडेर सम्पर्कविहीन भएका थिए । काम देखाएर अस्पताल बाहिर निस्किएका उनी साँझसम्म नफर्किएपछि अस्पतालले खोजी ग¥यो । अस्पतालमा भएको नम्बरमा फोन गर्दा फोन बन्द रहेको थियो । एक महीना पहिले मात्रै बिरामीले दिएको ठेगानाका आधारमा सम्पर्क गर्दा फोन उठेन । उनी आफैँले दिएको ठेगानाका आधारमा परिवार फेला पारेर अस्पतालले अहिले उनलाई घर फर्काइदिएको छ ।
मानसिक रोगका उपचारका लागि आफूसँगै ल्याएका आफन्तले छाडेपछि अलपत्र परेका तीन बिरामी अहिले अस्पतालमा छन् । महीनैपिच्छे दुई÷चार बिरामी परिवारका सदस्य वा आफन्तले छाडेर अलपत्र हुने गरेको अस्पतालले जनाएको छ । ती बिरामीको उपचार गर्दै आफन्तको खोजी गरिने प्रमुख कन्सल्टेन्ट साइक्राट्रिस्ट अनन्त अधिकारीले बताए । उनका अनुसार साथमा लिएर आएका बिरामी छाडेर कुरुवा भाग्ने अस्पतालमा समस्याका रुपमा रहेको छ । अस्पतालमा कुरुवाले बिरामी छाड्ने समस्यासँगै बिरामी आफैँ अस्पतालबाट भाग्ने समस्या रहेको अस्पतालले जनाएको छ । बिरामीले आफूलाई केही नहुँदा पनि जबर्जस्ती बिरामी भनेको भन्दै भाग्ने गरेका छन् । स्वास्थ्य खबर मा समाचार छ l