एजेन्सी- चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो समय हुवावेले निकै ठूलो चुनौतीको सामना गरिरहेको छ ।पश्चिमा देशहरुले हुवावेमाथि जासूसी गरेको आरोप लगाएका छन् । के साच्चै हुवावे दोषी हो ? कि त हुवावेमाथि अनावश्यक आरोपहरु लगाइएका पो हुन् कि ? हुवावेको कहानी यस्तो छ ।
रहस्यमय ह्याकिङ्ग
यो कुनै रहस्यमयी फिल्मी कहानीभन्दा कम छैन । यसको सुरुवात हुन्छ, अफ्रिकी युनियनको मूख्यालयबाट ।
अदिस अबाबास्थित मूख्यालयको भवन कुनै अन्तरीक्षयान जस्तै देखिन्छ । जसको बाहिरी भित्तामा सूर्यको प्रकाशले निकै चम्किलो देखिन्छ । गगनचुम्बी त्यो भवन इथोयोपियाको राजधानीमा सबैभन्दा विशेष देखिन्छ ।
जब तपाइँ यो भवनको लिफ्टमा पस्नुहुन्छ, चिनिया मण्डारिन भाषामा आगन्तुकको स्वागत हुन्छ । प्लास्टिकका ताडवृक्षमा चिनिया विकास बैंकको लोगो देख्न सकिन्छ । सबै ठाउँमा यस्ता संकेतहरु छन् कि त्यसबाट त्यो भवन चीनको वित्तिय सहयोगमा बनेको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
सन् २००६ मा चीनले २० करोड अमेरिकी डलरमा उक्त भवन बनाइदिने बाचा गरेको थियो । सन्२०१२ मा त्यो भवनको निर्माण पूरा भैसकेको थियो । त्यो भवनका सबै चिजहरु चिनिया सामानहरु हुन् । भवन भित्रको कम्प्युटर सिस्टम पनि चिनिया नै थियो।
कैयन् वर्षसम्म यो भवन चीन र अफ्रिकाबीचको मजबूत सम्बन्धको साक्षीका रुपमा रह्यो । बितेका दुई दशकमा चीन र अफ्रिकाको बीचमा कारोबार लगातार बढिरहेको थियो । त्यो वृद्धिदर वार्षिक २० प्रतिशत थियो । चीन अफ्रिकाको सबैभन्दा ठूलो आर्थिक साझेदार पनि हो ।
जनवरी २०१८ मा फ्रेन्च पत्रिका ला मोन्डेले अफ्रिकामा ठूलो तरंग ल्याइदियो । अफ्रिकी युनियन कार्यालयको कम्प्युटर प्रणाली ह्याकिङ्ग हुने गरेको खुलासा त्यो पत्रिकाले गर्यो ।
उक्त पत्रिकाका अनुसार बितेका पाँच वर्षमा हरेक रात मध्यरातदेखि बिहान दुई बजेसम्मको समयमा अफ्रिकी युनियनका कम्प्युटर सर्भरका डाटा करीब ८ हजार किलोमिटर टाढा सांघाईस्थित सर्भर केन्द्रमा पठाइने गरिएको थियो ।
विना कुनै रोकतोक १८ सय २५ दिनसम्म यसरी डाटाको चोरी गरिएको पत्रिकाको दाबी छ ।
अफ्रिकी युनियनका लागि काम गरिरहेका एक इमान्दार वैज्ञानिकले कार्यालयको सर्भरमा असामान्य गतिविधि देखेपछि त्यसका बारेमा अनुसन्धान गर्दा त्यस्तो तथ्य पत्ता लागेको थियो ।
रिपोर्ट अनुसार माइक्रोफोन तथा सुन्नका लागि प्रयोग गरिने डिभाइसहरु पनि भित्ता र डेस्कहरुमा यत्रतत्र लगाइएका थिए । साथै अरु धेरै लुकाइएका माइक्रोफोनहरुले पनि काम गरिरहेका थिए ।
पत्रिकाको यस्तो समाचारले सनसनी मच्चायो । चीन र अफ्रिकी युनियनका अधिकारीहरुले त्यो खबरको खण्डन गर्दै झुटो भएको बताए । पश्चिमी मिडियाहरुले बलियो बन्दै गरेको चीन र आत्मनिर्भर बन्दै गरेको अफ्रिकाबीचको सम्बन्धमा भाँजो हाल्ने प्रयास गरेको आरोप उनीहरुले लगाए ।
यी सबै घटनाबीच एक तथ्यका विषयमा खासै चर्चा भएन । त्यो के भने अफ्रिकी युनियनको कार्यालयमा सूचना तथा सञ्चार प्रविधिको व्यवस्था गर्ने जिम्मा चिनिया कम्पनी हुवावेलाई दिइएको थियो ।
हुवावेले पनि त्यस्ता कथित आरोपका बारेमा आफ्नो कुनै लेनादेना नभएको र यस मामिलामा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्यो ।
अष्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्यूटका डानियल केभका अनुसार डाटा चोरीमा हुवावेकै भूमिका रहेको ठोकुवा गर्न नसकिएपनि लगातार पाँच वर्षसम्म आफ्नो सिस्टमबाट भएको डाटा चोरीका विषयमा हुवावे अनभिज्ञ थियो भनेर पत्याउन गाह्रो हुन्छ ।
यद्यपि चीन सरकार वा अन्य कुनै कम्पनीले हुवावे टेलिकम नेटवर्कका उपकरणको प्रयोग गरी उपभोक्ताको डाटा चोरी गरेको कुनै सबूत प्राप्त भएको छैन ।
अफ्रिकी युनियनको मुख्यालयमा भएको भनिएको त्यो डाटा चोरी साँच्चीकै भएको थियो वा थिएन, त्यसको पुष्टि पनि हालसम्म हुन सकेको छैन ।
तर यो घटनाले हुवावेका बारेमा वर्षौँदेखि चल्दै आएको शंकालाई बल पुग्यो । हुवावेमाथि चीन सरकारको हस्तक्षेप रहेको शंका गरिँदै आएको छ ।