भुटानमाथि जित निकाल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पाँचौं महिला साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। घरेलु मैदानमा आजदेखी सुरु च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमै भुटानमाथि ३-० को जित निकालेको हो। नेपालको जितमा कप्तान निरु थापा, साबित्रा भण्डारी र मन्जली योन्जनले गोल गरे।
विराटनगरस्थित सहिद रंगशालामा ४-४-२ फरमेसनमा मैदानमा उत्रिएको नेपालले पहिलो हाफमा दुई गोल गरेको हो भने दोस्रो हाफमा १ गोल थपेको थियो। नेपालका लागि पहिलो गोल मन्जली कुमारी योन्जनले गरेकी थिइन्।
१३ औं मिनेटमा साबित्रा भण्डारीले दिएको ब्याक पासमा मन्जलीले बायाँबाट गरेको प्रहार भुटानकी गोलकिपर संगिता मोङगरले रोक्न सकिनन्। लगत्तै ३ मिनेटपछि नेपालले अग्रता दोब्बर बनाएको थियो।
एकल प्रयासमा साबित्राले गरेको प्रहार गोलमा परिणत भएको थियो। योसँगै साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्या २३ पुगेको छ।
दोस्रो हाफमा आक्रमक बनेको नेपालले १ गोल थप्यो। ५३ औं मिनेटमा कप्तान निरुले टोलीका लागि तेस्रो तथा ब्यक्तिगत पहिलो गोल गरिन्।
कप्तान निरुको यो ११ औं अन्तर्राष्ट्रिय गोल हो। बाँकी समय नेपालले कडा प्रहार गरे पनि भुटानकी गोलकिपरले विफल पारेकी थिइन्। समुह ए मा रहेको नेपालले दोस्रो खेल बंगलादेशसँग खेल्नेछ।