काठमाडौं– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहप्रति प्रतिबन्ध लगाएसँगै यसको पक्ष–विपक्षमा विभिन्न प्रतिक्रिया आएका छन् । कांग्रेस सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सो समूहमाथिको प्रतिबन्धको स्वागत गर्दै थप कारबाहीको माग गरेका छन् ।
तर, सत्तारुढ दल नेकपाकै एक नेताले भने सरकारले हतारमा प्रतिबन्ध लगाएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले विप्लव समूहमाथिको प्रतिबन्ध गलत भएको बताएका हुन् ।
‘मेरा कुराहरु पार्टीमा राख्छु, तर म यति भन्न चाहन्छु कि कुनै पनि पक्षलाई धकेल्ने, निषेध गर्ने र बाध्यात्मक बाटो लिन बाध्य पार्ने काम राज्यले गर्नुहुँदैन,’ बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले भने, ‘विप्लव समूहलाई म विद्रोही समूह भन्दिनँ, राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन ।’
विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने पौडेलले बताए ।
‘छिटपुट घटना घटेका छन्, यसबारे छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ,’ सरकारले सो समूहलाई एकपटक अवसर दिनुपर्ने बताउँदै पौडेलले भने, ‘हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरी निर्णय गर्नुपर्छ ।’
आवश्यक पर्यो भने संविधान संशोधन गर्न पनि सकिने पौडेलको भनाइ छ ।