एजेन्सी – नर्बेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ। पानीजहाजमा यात्रारत व्यक्तिले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो।
नर्बेका उद्धारकर्मीले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए। भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो। नर्बेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो। मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सूचना पठाएका थिए।