एजेन्सी – पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको बताएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।
नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।
मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताए ।
‘सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने। अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाइ छ ।