सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

गुल्मीमा झाडापखाला नियन्त्रणमा नआउँदा बिरामीको सङ्ख्या १६० पुग्यो

गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन। झाडापखालावाट बिरामी हुनेको सङ्ख्या शनिबार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए।

ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको र एक जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य बिरामी भने दजाकोटमै सञ्चालित अस्थायी शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताए। गुल्ली अस्पतालका डा उत्तम पचभैयाका अनुसार उपचार गराउन आएका पाँचैजनाको दिसा परीक्षण गर्दा सबैको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा सङ्क्रमण हुनसक्ने बताए। उक्त स्थानमा झडापखालाको कारण पत्ता लगाउन पानी परीक्षण गर्न विश्व स्वास्थ्य सङ्गठनको एक टोली आजै प्रभावित क्षेत्रमा पुग्ने उनले जानकारी दिए।

मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखाले प्रभावित क्षेत्रमा स्थानीय विद्यालयमा अस्थायी शिविर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका चिकित्सक सहितका स्वास्थ्कर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर बिरामीको उपचार गर्दै आएको छ । डा उत्तम पचभैयाका अनुसार अहिले त्यस क्षेत्रमा फैलिएको झाडापखाला विस्तारै नियन्त्रणमा आउन लागेको र बिरामीको अवस्था समेत सामान्य बन्दै गएकोे छ ।

प्रभावित क्षेत्रमा खानेपानीको समस्या

झाडापखालावाट प्रभावित दजाकोटको सिङ्गो बस्तीमा यतिबेला मानिसलाई पिउने पानीको समस्या भएको छ। विगत एक वर्षदेखि नियमित ८५ घरपरिवाले उपभोग गर्दै आएको पानी दूषित बनेपछि स्थानीयवासीले यति बेला उक्त पानी पिउन छाडेका छन्। गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने स्थानबाट नगरपालिकाले शुक्रबारदेखि ट्याङ्करमा पानी बोकेर स्थानीयवासीलाई वितरण गर्दै आएको छ। पानीको सङ्क्रमणबाट मानिस थप बिरामी नहोउन् भनेर नगरपालीकाले उक्त स्थानमा झाडापखाला नियन्त्रणमा नआउँदासम्म शुक्रबारदेखि प्रत्येक घरपरिवालाई पिउनका लागि एक कार्टुनका दरले मिनरल वाटर उपलब्ध गराएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए।

नगरपालिकाले झाडापखालाबाट बिरामी भएकालाई उपचारका लागि आवश्यक बजेट उपलब्ध गराउने र उपचारमा कुनै कमी हुन नदिने उनले जानकारी दिए। अहिले प्रभावित बस्तीमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिले स्थानीयवासीलाई सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । झडापखालाको प्रकोप देखिएको उक्त ठाउँका मानिसमा शुरुमा पेट दुख्ने, बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन्।सेतोपाटिमा समाचार छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय