रक्तचाप वृद्धि हुने, रगतमा ग्लुकोज (सुगर – चिनी) को मात्रा बढ्ने, रगतमा ट्राइग्लिसेरायड (रगतमा हुने एक प्रकारको बोसो) वृद्धि हुने एवं असल अर्थात् हितकर कोलेस्टेरोल (एचडिएल) को मात्रा कम हुने– यी चारमध्ये कम्तीमा दुई र पेटमा बोसो लागेर कम्मरको नाप (गोलाइ) बढ्ने गरेर जम्मा तीन अवस्थाहरु विद्यमान छन् भने त्यसलाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ। यी पाँचमध्ये चार वा पाँच वटै अवस्था यदि कसैलाई छ भने जोखिम धेरै हुन्छ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) का अनुसार संसारको २० देखि २५ प्रतिशत वयस्क जनसंख्या यो समस्याबाट पीडित छ। प्रत्येक तीनमध्ये एक वयस्क अमेरिकी यसबाट ग्रस्त छन्। स्टेप्स सर्वेअनुसार नेपालका १५ देखि ६९ वर्ष सम्मका व्यक्तिमध्ये १५ प्रतिशतलाई मेटाबोलिक सिन्ड्रोमको समस्या छ।
स्वस्थ वयस्क व्यक्तिको औसत रक्तचाप १२०÷८० मिमि अफ मर्करी हुन्छ। रक्तचाप १३०/८५ मिमि अफ मर्करीभन्दा बढी हुनु जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकताको सूचक हो। त्यस्तै कम्मरको नाप पुरुषमा ३६ इन्च (९० सेमि) भन्दा बढी एवं महिलामा ३२ इन्च (८० सेमि) भन्दा बढी हुनु जोखिमको सूचक हो।
बेलुकाको खाना खाएर सुतेपछि (आठ घन्टा केही नखाई) बिहान खाली पेटमा जाँच गर्दा रगतमा चिनीको मात्रा १०० मिग्रा/डेलिभन्दा बढी छ भने यो पनि मेटाबोलिक सिन्ड्रोमको एउटा सूचक हो। त्यस्तै ट्राइग्लिसेरायड १५० मिग्रा÷डिएलभन्दा बढी हुनु र ‘असल’ कोलेस्टेरोल पुरुषमा ४० मिग्रा÷डिएलभन्दा कम एवं महिलामा ५० मिग्रा/डिएलभन्दा कम हुनु अर्को संकेत हो।
मेटाबोलिक सिन्ड्रोम भएको व्यक्तिलाई मधुमेह रोग हुने सम्भावना सामान्य (मेटाबोलिक सिन्ड्रोम नभएको) व्यक्तिलाई भन्दा पाँच गुणा बढी हुन्छ। त्यस्तै हृदयघात एवं मस्तिष्कघात हुने सम्भावना तीन गुणा बढी हु्न्छ। उच्च रक्तचापको औषधि खानुपर्ने अवस्था आउने सम्भावना धेरै हुन्छ।
मधुमेह एवं उच्च रक्तचाप भइसकेपछि जीवनभर औषधि खानुपर्ने हुनसक्छ। रोग बढ्दै गएपछि औषधिको संख्या एवं मात्रा बढाउँदै लैजानुपर्ने हुन्छ। लामो समय नियमित औषधि सेवन गर्दा औषधिको पाश्र्वप्रभाव (साइड इफेक्ट) को कारण पनि विभिन्न समस्याहरु आइरहने हुनसक्छ। यी रोगहरुको परिणामस्वरुप आँखा धमिलो हुने वा अन्धोपन हुने, नशा एवं रक्तनलीमा समस्या आउने, मुटुरोग हुने, मिर्गौला फेल हुँदै जाने हुन्छ। त्यसबाट उत्पन्न शारीरिक कष्ट एवं मानसिक तनाव तथा पारिवारिक, सामाजिक र आर्थिक जीवनमा पर्ने प्रभाव महँगो पर्न जान्छ। त्यसैले नै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भनिएको हो।
शारीरिक मोटोपनबाहेक सामान्यतयाः रगतमा ‘सुगर’ एवं रक्तचाप धेरै वृद्धि नहँुदासम्म मेटाबोलिक सिन्ड्रोमको खासै कुनै लक्षण नदेखिने हुँदा यो अवस्थाबाट ग्रसित भएको धेरैलाई थाहा नै हँुदैन र थाहा भए पनि बिरामीहरुले गम्भीर रुपमा लिने गरेको पाइँदैन। तर यसको परिणामस्वरुप ज्यानै जानसक्ने वा जीवनलाई कष्टकर बनाउने ‘प्यारालाइसिस’ (‘स्ट्रोक’ अर्थात मस्तिष्कघातको परिणामस्वरुप) एवं हृदयघात हुनसक्छ। उच्च रक्तचाप एवं उच्च ट्राइग्लिसेरायडको कारणले शरीरको रक्तनलीमा बोसो जम्मा भई रक्तनली साँघुरो भएर वा फुटेर मुटु एवं मस्तिष्कमा पर्याप्त मात्रामा पोषक तत्व एवं अक्सिजन नपुगेर मुटु दुख्ने (एन्जाइना), हृदयघात एवं मस्तिष्कघात हुनसक्छ।साभार : स्वास्थ्य खबर