काठमाण्डौ
सरकारले नगदजस्तै सुन चाँदी बैंकमा राख्दा मूल्य बराबरको ब्याज दिने नयाँ नियम ल्याएको छ।अर्थमन्त्री युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। बैंकमा राखिने सुन र चाँदीको कमोडिटी मार्केटले तय गरेको बजार मूल्यलाई आधार बनाएर सर्वसाधारणलाई निश्चित दरमा ब्याज दिइने छ।
‘कमोडिटी मार्केटको प्रचलित मूल्य हेरेर डेरिभेटिभ क्याल्कुलेसनमार्फत् समायोजन गरी निश्चित दरको ब्याज दिन सकिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने।बैंकहरूलाई पनि कतिसम्म सुन तथा चाँदी निक्षेप स्वीकार गर्न सक्ने भन्ने सम्बन्धमा सीमा निर्धारण गरिने उनले जानकारी दिए।‘एउटा बैंकले कतिसम्म सुन वा चाँदी निक्षेप राख्ने, ब्याजदर कतिसम्म दिन सक्ने, राखेको सम्पत्ति सञ्चालन कसरी गर्नेलगायतका विषयमा पछि बन्ने कार्यविधिमा तय हुने हो,’ उनले भने।अहिले नेपालमा बैंकहरूले नगदलाई मात्रै निक्षेपका रूपमा स्वीकार गर्दै आएका छन्। अब सुनचाँदीजस्ता बहुमूल्य धातु पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था हुँदा बैंकिङ क्षेत्रको विकासले नयाँ फड्को मार्ने उनले दाबी गरे।