काठमाडौं- नेपालको व्यापार घाटा वस्तुमा मात्रै होइन, सेवामा समेत बढ्दै गएको छ । वस्तुसँगै सेवाको उपभोग बढ्दो छ, तर उत्पादन भने उल्लेखनीय बढेको देखिँदैन । त्यसैले पर्यटन, शिक्षा, स्वास्थ्य, परामर्श सेवालगायतका क्षेत्रको वैदेशिक व्यापारमा पनि नेपालको घाटा चुलिँदो छ । चालू आव ०७५/७६ को नौ महिनामा नेपालले सेवाको वैदेशिक व्यापारमा १० अर्ब ९१ करोड रुपैयाँले घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै चार गुणाले बढी हो । गत आव ०७४/७५ को नौ महिनामा सेवाको वैदेशिक व्यापारमा नेपालले २ अर्ब ९३ करोड रुपैयाँको नोक्सान व्यहोरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
राष्ट्र बैंकका अनुसार सेवाको निर्यातभन्दा आयातको वृद्धिदरसमेत बढी देखिएको छ । नेपालले सेवा निर्यात ११ प्रतिशतले बढ्दा आयात भने १६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा नेपालले कुल १ खर्ब ३९ अर्ब ३७ करोड रुपैयाँबराबरको सेवा निर्यात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब २८ करोड रुपैयाँको सेवा आयात गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा १६.९ प्रतिशतले बढी हो ।