उखरमाउलो गर्मीका कारण पश्चिमी तराईका विद्यालयहरू बन्द गरिएका छन्। बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ।
पश्चिम तराईको भैरहवामा यो हप्ता छ वर्षयताकै उच्च तापक्रम मापन गरिएको थियो।मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिवार भैरहवा क्षेत्रको तापक्रम ४३.३ डिग्री सेल्सियससम्म पुगेको थियो।यो विसं २०६९ सालयताकै सबैभन्दा बढी हो। विसं २०६९ को असार १ गते ४३.८ डिग्री सेल्सियस मापन गरिएको थियो।
बढ्दो तापक्रममा कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न गाह्रो भएपछि भरतपुर र तिलोत्तमा नगरपालिकामा बिदा दिइएको छ।तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले यो बिदा अरू वार्षिक बिदामा कटौती गर्ने गरी व्यवस्था मिलाइएको बताएका छन्।
भैरहवा, बुटवल, पर्सा र कपिलवस्तु लगायतका स्थानीय तहले पनि केही समयका लागि विद्यालयमा बिदा दिएका छन्। { बि बि सी }