धनुषा – देशमा गणतन्त्र स्थापना भएर समानताको कुरा संविधानमा लेखिएको छ । जातीय छुवाछुत एवं भेदभावविरुद्धको अभियान नै चलिरहेको छ ।दिनदिनै मञ्चमा नेता र जनप्रतिनिधिले छुवाछुत एवं भेदभावविरुद्ध चर्को भाषण गर्छन् । तर धनुषामा जनप्रतिनिधिले नै छुवाछुत मान्ने गरेका छन् । धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेनु झाले छुवाछुत मान्ने गरेको आरोप लगोको छ । त्यसै नगरपालिका कार्यालयमा सरसफाइ कर्मचारीको रुपमा कार्यरत वडा नं. ३ की ५५ वर्षकी कुनोदवी डुमले आफूलाई मेयर मण्डल र उपमेयर झा तल्लो जातको हो भनेर हेप्ने र होच्याउने गरेको आरोप लगाउनु भएको छ ।
‘मेयर, उपमेयदेखि सबैलाई खुवाउन जाँदा मलाई तल्लो जातकाे भनेर हेप्छन् । अछुत भन्दै फर्काउँछन्’, कुनोदेवी डुमले गुनासो गर्दै भन्नुभयो, ‘मलाई भन्छन् अबदेखि तिमी पानी लिएर नआऊ ।’कुनोदेवीलाई नगरपालिका कार्यालयले मौखिक रुपमा सरसफाइ कर्मचारीमा राखेर श्रम शोषणसमेत गर्ने गरेको छ । उहाँ नगरपालिका कार्यालय तथा शौचालय सरसफाइ नियमित गर्दै आउनु भएको छ । सुरुमै मासिक १० हजार रुपैयाँ दिने मौखिक सर्तमा नगरपालिकाले राखे पनि अहिले महिनाको ५ हजार मात्र दिने गरेको बताउनुहुन्छ । हालसम्म मात्र ३० हजार रुपैयाँ दिएको कुनोदवीको भनाइ छ । नियमित रुपमा आफू काम गर्दै आए पनि अब बाँकी तलब नगरपालिकाले दिन नमानेको उहाँको गुनासो छ ।
यता नगरपालिकाका मेयर मण्डलले ताल्लो जातको हो भनेर कुनोदेवीलाई कहिल्यै नहेपेको र उहाँले दिएको पानीसमेत खाने गरेको दावी गर्नुभयो । ‘कुनोदेवीलाई डुम भनेर मैले कहिल्यै हेपेको छैन, उहाँको हातको पानी म खाने गरेको छु । कुनोदवीले ममाथि लगाइएको आरोप झुटो हो ।’ मेयर मण्डलले भन्नुभयो, ‘ कुनोदवीलाई सुरुमै मौखिक रुपमा तलब दिने कुरा भएको थियो । पछि तलब खुवाउन असहज भएपछि नगरपालिकाले माघदेखिको पैसा दिएर काम छोड्न भनेको छ । तर उहाँको घर नजिक भएर आएर अहिले पनि नियमित काम गर्नु हुन्छ ।’
उपमेयर रेणु झाले नगरपालिका कार्यालय छेउमै आफ्नो घर भएकाले कहिल्यै पनि कुनोदवीको हातबाट खाना र पानी खाने मौका नै नमिलेको प्रतिक्रिया दिनुभयो । आफूले छुवाछुत नमानेको र छुवाछुतकोविरुद्ध लागि परेको उहाँको दाबी छ । उज्यालो अनलाईनमा खबर छ