कागजी रूपमा सरकारी मापदण्ड पूरा गरेर चीनको दक्षिणपूर्वी क्षेत्रस्थित एउटा सहरमा रोजगारीका लागि पठाइएका ४४ नेपाली महिलालाई उद्धार गरेर स्वदेश फर्काइएको छ।
एउटा म्यानपावर कम्पनीमार्फत् चीन गएका उनीहरूले उक्त कम्पनीले आफूहरूलाई झुक्याएर पठाएको बताएका छन्।सो कम्पनीले दक्षताको नक्कली प्रमाणपत्र बनाएर पठाउँदा आफूहरूले काम गर्न नसकेको र तोकिएको तलब नपाएको उनीहरूको गुनासो छ।चीनबाट फर्काइएकी पश्चिम नेपालकी एक महिलाले भोगेको कठिनाइ उनकै शब्दमा-
विदेशको रहर
हामीलाई कम्पनीले चीनमा ज्याकेट फ्याक्ट्रीमा ‘प्याकेजिङ’को काम गर्न पठाउने भनेको थियो।महिनाको दुई सय ५० अमेरिकी डलर तलब हुन्छ भनियो। तर हाम्रो सम्झौतापत्रमा भने चार सय डलर तोकिएको रहेछ।हामीसँग जान लागेका केही साथीहरूले चार सय डलरको बारेमा सोध्दा कम्पनीका मान्छेले ‘यस्तो गर्नैपर्छ’ भन्ने जानकारी दिए।उनीहरूले मासिक तलब दुई सय ५० डलर हुन्छ भन्ने अर्को कागजमा पनि हस्ताक्षर गराएका थिए।हामीले ‘फ्री भिसा’ र ‘फ्री टिकट’ पनि देखेकै हो, तर सबैले पैसा बुझाएर नै विदेश जान्छन् भन्ने सुनेकाले मैले पनि पैसा तिरेरै जाने निधो गरे।साठी हजार रुपैयाँम कम्पनीलाई ६० हजार रुपैयाँ बुझाएर चीन गएकी हुँ।हाम्रो सम्झौतापत्रमा महिनामा २८ दिन दैनिक ११ घण्टा काम गर्नुपर्ने उल्लेख थियो। दुई सातामा एक दिन बिदा भनिएको थियो।खान र बस्न पनि कम्पनीले नै दिने भनिएको थियो।
विदेश गएर पैसा कमाउने सपना कस्को पो हुँदैन र? म पनि त्यस्तै सपना बुन्दै गत मे १२ तारिखमा चीन पुगेँ।
हामीलाई उत्तर कोरिया नजिकको क्षेत्रमा पठाइएको रहेछ।
उद्धारको पहल
काम पनि एकथोक गर्ने भनेर पठाउने अनि तलब पनि भने जति नहुने भएपछि हामीले बेइजिङस्थित नेपाली दूतावासमा खबर गर्यौँ।सबैले नेपालमा रहेका आफन्तहरूलाई खबर गर्न थाले। मैले पनि काठमाण्डूमा दिदीलाई खबर गरेँ।म्यानपावरमा पनि खबर गर्यौँ। त्यसपछि यो विषयको खबर बनेर धेरैतिर फैलिएछ।हामीले खबर गरेपछि दूतावासले पहल गरेर नै हामी नेपाल आइपुगेका हौँ।हामीले फ्याक्ट्रीमा एक महिनाभन्दा काम गरेनौँ, तर त्यहाँ खान र बस्न भने हामीलाई दिइरहे। केही नराम्रो गरेनन्।
म्यानपावरले हामीलाई क्षतिपूर्तिसहित रकम फिर्ता गर्छौँ भनेको छ।त्यसैले म चाहिँ एक/दुई दिन पर्खने विचारमा छु। केही साथीहरूले चाहिँ उजुरी गर्ने भनेर विभागमा गएका छन्।हामी विदेश गएर पैसा कमाउने सपना देखेर त्यसैको मात्र पछि लाग्दा ठगियौँ।हामीलाई झुक्याउने र छल्ने काम भयो। म मेरो अनुभवले पनि अरूलाई यसरी नबुझी विदेश नजानु भन्न चाहन्छु।