२४ असार, काठमाडौं । सर्लाहीका कुमार पौडेल मृत्यु प्रकरणबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असहमति जनाएको छ । दलहरुबीच सहमति नजुटेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
मंगलबार सर्लाही घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले संसदलाई जानकारी गराएका थिए ।उनले विप्लव समूहका सर्लाही इन्चार्ज पौडेलको मृत्यु प्रहरीसँग भिडन्तमा भएको बताए भने सरोजनारायण यादवलाई हवाई फायर गर्दा गोली लागेको बताए । तर गृहमन्त्रीको जवाफमा कांग्रेस र राजपाले चित्त बुझाएन ।
गृहमन्त्रीले सुरक्षा निकायबाट भएको कमजोरीलाई ढाकछोप गरेको भन्दै दुबै दलले संसदीय छानबिन समिति गठन गर्न माग गरे । सभामुख कृष्णबहादुर महराले आफू सकारात्मक रहेको तर सबै दलसँग परामर्श गरेर निर्णय लिने बताए ।