सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

प्रहरीले कुटेको भिडीयो फेसबुकमा अपलोड गरेपछि यो युवालाई झन् आपत

जनकपुरमा के भएको थियो?

बिहीवारदेखि सामाजिक सञ्जालहरूमा व्यापक भइरहेको जनकपुरको भिडिओमा एक युवकसँग प्रहरीको धकेलाधकेल भएको देखिन्छ।

उक्त भिडिओमा एक जनाले पहेँलो रङ्गको टीशर्ट च्यातिएको पनि देखिन्छ।

ती व्यक्ति जनकपुर निवासी सुशील कर्ण भएको भनिएको छ। त्यसलाई धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पनि पुष्टि गरे।

उनले भने, “त्यो घटना भएको हो तर त्यसलाई भिडिओमा एकपक्षीय ढङ्गले प्रस्तुत गरिएको छ।”

सामाजिक सञ्जालमा अप्लोड भिडिओमा ती युवक च्यातिएको टीशर्टमा देखिएका छन्।

उनले त्यस भिडिओमा “प्रहरीले त्यहाँका साना व्यवसायीहरूसँग रकम माग गरेको र रकम नदिनेलाई कुटपिट गरेको देखेको” दाबी गरेका छन्।

उनले त्यसपछि “आफूले क्यामरा खोलेर भिडिओ खिचेको र त्यो भिडिओ सामजिक सञ्जालमा अप्लोड गरेको साढे तीन घण्टापछि बोलाएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको” आरोप लगाएका छन्।

उक्त भिडिओसँगै प्रहरीसँग भएको उनको धकेलाधकेलको भिडिओ पनि सामाजिक सञ्जालमा वितरण भइरहेको छ।

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले उक्त घटना सार्वजनिक भएपछि कारबाही सुरु गरिसकिएको जानकारी दिए।

उनले भने, “जानकी मन्दिर क्षेत्रलाई सुन्दर बनाउने भन्ने गत ६ गते निर्णय भएको थियो। त्यसैअनुसार प्रहरीले मन्दिर क्षेत्रबाट ठेलामा सामान विक्री गर्ने व्यापारीहरूलाई हटाएको हो।”

उनका अनुसार त्यसै क्रममा एक व्यापारीले प्रहरीले रकम माग गरेको आरोप लगाएको र त्यो भिडिओ बनाएर सुशील कर्णले फेसबुकमार्फत् सार्वजनिक गरेको बताए।

उक्त भिडियो सार्वजनिक भएपछि जानकी मन्दिरस्थित पर्यटक प्रहरीका असई विजय यादवले कर्णलाई बोलाएर दुर्व्यवहार गरेको कर्णले आरोप लगाएको उनले बताए।

“त्यसपछि हामीले दुवै पक्षलाई राखेर छलफल गरायौँ। त्यसमा असई साहबले माफी मागिसक्नुभयो। अहिले विवाद साम्य भइसक्यो,” उनले भने।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवारै आफ्नो फेसबुक पेजमा एउटा वक्तव्य राख्दै उक्त घटनामा संलग्न प्रहरीहरूमाथि विभागीय कारबाही सुरु गरिसकिएको जनाएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय