सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

हङकङमा जारी रहेको राजनीतिक संकट समाधान गर्न राष्ट्रपति सी जिन्पिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा जारी रहेको राजनीतिक समस्याबारे छलफल गर्नका लागि आफ्ना चिनियाँ समकक्षी सी जिन पिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने प्रस्ताव अघि सारेका छन्। ट्विटरमार्फत ट्रम्पले सिले हङकङको समस्यालाई मानवीय ढंगले समाधान गर्न सक्नेबारे आफूलाई रत्तिभर पनि शंका नरहेको जनाएका छन्।

हङकङमा अपराध गर्नेहरूलाई थप अदालती कारबाहीका लागि मुख्य भूमि चीनमा अभियुक्तलाई हस्तान्तरण गर्ने अनुमतिका लागि प्रस्तावित विधेयकविरुद्ध शुरू भएको प्रजातन्त्र समर्थित प्रदर्शन थुप्रै सातादेखि जारी रहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार उक्त विधेयकका कारण हङकङमाथि चीनको नियन्त्रण अझै बढी रहन जानेछ।
चीनको विशेष प्रशासकीय क्षेत्र मानिने हङकङको स्थानीय प्रशासनले यस विधेयकलाई निलम्बित गरिसकेको छ। तर, स्थानीय जनता अब बृहत् प्रजातान्त्रिक अधिकारको माग राख्दै प्रदर्शनरत रहेका छन्।
हङकङ चीनकै भू–भाग भए पनि यहाँ एक मुलुक दुई पद्धतिको नीति लागू गरिएको छ। जसअनुसार हङकङलाई उच्चस्तरको स्वायत्तता प्रदान गरिएको छ। केही दिनयता प्रहरी र प्रदर्शनकारी बीचको झडप चर्किंदै गइरहेकाले हङकङका सरकारी नेता क्यारी लामले यो शहरमा अस्थिरता व्याप्त हुन सक्ने चेतावनी दिएका छन्।
मंगलबार प्रदर्शनकारी विमानस्थलको टर्मिनल भवनहरूमा प्रवेश गर्न थालेपछि एक दिन सम्पूर्ण बहिर्गमन उडान रद्द गर्नुपरेको थियो। चीन सरकारले प्रदर्शनकारीको व्यवहार आतंककारीको जस्तो देखिएको भन्दै आलोचना गरेको छ।
बुधबार साँझ सशस्त्र प्रहरी फौजले साम सुई पो नजिक एउटा प्रहरी चौकीमा लेजर प्वाइन्टरले ताक्दै गरेको प्रदर्शनकारीलाई  अश्रुग्यास प्रहार गरेको थियो। लेजर प्वाइन्टर बोकेको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएपछि पदर्शनकारीले त्यसको विरोधमा व्यापकरूपमा प्वाइन्टरको प्रयोग गर्न थालेका हुन्।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय