केही वर्ष साउदी अरब बसेर फर्किएका ताप्लेजुङका खिबराज मिश्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेची पुगे । तर, कर्मचारीबाट यो काम गराउन सकेनन् । ‘दुई दिन झापा बसेँ, काम भएन,’ उनले भने । अन्ततः उनले हरेस खाएर बिचौलियालाई पाँच सय दिए । तुरुन्तै काम भयो ।
यातायात व्यवस्था कार्यालय मेची पुग्ने जोकोहीले यही समस्या भोग्नुपर्छ । कार्यालयमा सेवाग्राहीले सेवा कम, दुःख बढी पाइरहेका छन् । बिचौलिया को हुन्, कर्मचारी को हुन् छुट्याउन गाह्रो पर्छ । यो कार्यालयमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही आउँछन् । सवारी अनुमतिपत्र नवीकरण, प्रतिलिपि, नामसारी दर्ता, अञ्चलीकरण सरुवा दर्तालगायत काम सेवाग्राहीले आफैँ गराउन सक्दैनन् । बिचौलियाको हात नसमातेसम्म कुनै पनि काम गराउन सकिन्न । यसबाट सर्वसाधारण दिक्क भएका छन् ।
कार्यालयमा २० जनाभन्दा बढी बिचौलिया छन् । सरकारी कर्मचारीझैँ उनीहरू बिहान १० बजे नै कार्यालय पुग्छन् । दिनभर काम गर्छन् । र, साँझ घर फर्किन्छन् । रोचक कुरो त के छ भने कार्यालयका अधिकृतको छाप बिचौलियाले आफ्नै गोजीमा बोकेर हिँडेका हुन्छन् । कार्यालयको जुनसुकै कोठामा पनि बिचौलियालाई प्रवेश छुट छ । कतिपय सेवाग्राहीको काम गर्दा ढड्डा पल्टाएर रेकर्ड हेर्नुपर्ने हुन्छ । ढड्डा भएको कोठामा कर्मचारी भेटिँदैनन् । त्यहाँ बिचौलिया मात्र ढड्डा पल्टाइरहेका हुन्छन् ।
कार्यालयका अधिकांश कर्मचारी बिचौलियाझैँ सादा पोसाकमा आउँछन् । तसर्थ सेवाग्राहीले कर्मचारी र बिचौलिया नै छुट्याउन सक्दैनन् । काम गरिदिएबापत बिचौलियाले सेवाग्राहीबाट मनलाग्दी रकम असुल्छन् । तर, बिल दिँदैनन् । तलदेखि माथिसम्मै सेटिङ छ, यातायात कार्यालयमा । कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार रुखो छ । काम सम्पन्न हुँदासम्म दर्जनौँपटक कर्मचारीको हप्की सहनुपर्छ ।
हरेक दिन सहकारीमा पैसा जम्मा गर्छन् कर्मचारी
यातायात कार्यालयका कर्मचारीले हरेक महिना तलब पाउँछन् । तर, उनीहरू हरेक दिन सहकारीमा बचत गर्छन् । केही सहकारीका ‘कलेक्टर’हरू दिनहुँ यातायात कार्यालयका हरेक कोठामा पुग्छन् । अधिकांश कर्मचारीले तीन सयदेखि पाँच सय रुपैयाँसम्म दैनिक बचत गर्छन् । सर्वसाधारणबाट घुसबापत लिएको रकम हरेक दिन सहकारीमा बचत भइरहेको छ ।
स्वास्थ्य परीक्षणमा लापरबाही
सवारीचालक अनुमतिपत्र लिन आवेदन दिँदा गरिने स्वास्थ्य परीक्षणमा पनि चरम लापरबाही छ । सवारीचालक अनुमतिपत्रका लागि गरिएको स्वास्थ्य परीक्षणमा सेवाग्राहीले डाक्टरको अनुहार पनि देख्न पाउँदैनन् । यातायात कार्यालयको अनुसूचीमा छारेरोग, आँखा, रगत परीक्षण गर्नुपर्ने उल्लेख छ । तर, यातायात व्यवस्था कार्यालयमा यी सबै जाँच दुई मिनेटमै हुन्छ ।
कार्यालको अव्यवस्थाबारे कुरा गर्न बुधबार नयाँ पत्रिकाकर्मी पुग्दा कार्यालय प्रमुखको कार्यकक्ष खाली थियो । चैतयता यो कार्यालयमा प्रमुख छैनन् । तत्कालीन कार्यालय प्रमुख खरुदेव चुडाल कन्काई नगरपालिकामा सरुवा भएर गएपछि भर्खरै आएका मेकानिकल इन्जिनियर गोपीचन्द्र बोहोरा कामचलाउ प्रमुख छन् । उनी लहानस्थित यातायात व्यवस्था कार्यालयबाट आएका हुन् ।
‘कार्यालय प्रमुख नभएपछि सिनियरका आधारमा मैले नै हेर्नुपरिरहेको छ,’ बोहोराले भने, ‘कार्यालय प्रमुखसरह सेवा–सुविधाचाहिँ हुँदैन, म कामचलाउ प्रमुख हुँ ।’ दैनिक चार सयभन्दा बढी सेवाग्राहीको काम गर्नुपर्ने, तर जनशक्ति कम भएको उनको भनाइ थियो । कार्यालयका कर्मचारीले सहकारीमा दैनिक बचत गरिरहेको विषयमा उनले अनभिज्ञता प्रकट गरे ।