(कञ्चनपुर) — कपिलवस्तु चन्दौटाकी धन कुमारी मगर घर धन्दामै व्यस्त थिइन् । श्रीमानले जुन काम सुरु गरेपनि घाटा मात्रै हुन्थ्यो । त्यसले उनमा झनै नैराश्यता बढाएको थियो । छोरा छोरीको पालन पोषण तथा घर खर्च चलाउन समेत धनकुमारीलाई निकै समस्या थियो । खान लाउनकै लागि समेत धौ धौ भईरहेका बेला उनलाई एउटा प्रस्ताव आयो
जसबाट अलि अलि घरको खर्च चलाउन सकिन्थ्यो । तर सुरुवातमै उनी असफल भईन् । त्यहि सानो लोभका कारण उनले दुधे वालक सहित भारतमा ७ वर्ष जेल बस्नुपर्यो ।
कुरा ७/८ वर्षअघिको हो । लाल बहादुर नाम गरेका दांगका चरेस तश्कर उनको घरमा आइरहन्थे । त्यहिको नाकाबाट चरेस भारततर्फ तश्करी गर्ने भएकाले पनि उक्त क्षेत्रमा उनको आउजाउ भईरहन्थ्यो । त्यहि क्रममा लाल बहादुरसंँग धनकुमारीको पनि परिचय भयो । विस्तारै सम्बन्ध नजिकिदै गएपछि लाल बहादुरले धनकुमारीलाई पनि चरेश तश्करीको प्रस्ताव राखे । उनले चरेश पश्चिमको गड्डाचौकी नाका हुंँदै भारत बनबसा पुर्याउनुपर्ने थियो ।
‘एक पटक बनबसा पुर्याएपछि बाटो खर्च कटाएर ५ हजार दिन्छु भनेको थियो, तर त्यहि ५ हजारको लोभले ७ वर्ष जेल बस्नुपर्यो,’ शुक्रबार भारत उत्तराखण्डको हरिद्वार स्थित जेलबाट मुक्त भई घर फर्किएकी धनकुमारीले भनिन्, ‘बनबसा पुग्न नपाउँदै एसएसबीले समातेर लगिहाल्यो ।’ २०१३ जनवरी १३ तारेख धनकुमारी चन्द्रौटाबाट महेन्द्रनगरतर्फ लागिन् । दांको लमहीमा लाल बहादुरले अढाई किलो चरेस दिए । त्यसपछि उनी बुटबलबाटै आएको बसमा बसिन र महेन्द्रनगर पुगिन् ।
‘कम्मरमा बाँधेरे लैजानु, बनबसा पुगेपछि मेरो मान्छे भेटन आउँछ भनेको थियो,’ धनकुमारीले भनिन्, ‘महेन्द्रन्गर पुगेपछि म सिधै गड्डाचौकी हुँंदै बनबसातिर लागे, तर बनबसा पुल नजिकै एसएसबीले चेक गर्दा चरेश समातियो ।’ चरेश तश्करी गरिरहेका बेला उनीसँंग अढाई वर्षिया छोरी पनि थिइन् । दुवैलाई चम्पावत लगियो । चम्पावत अदालतले केही दिनमै उतलाई १० वर्षको कैद सजाय सुनायो । त्यसपछि उनलाई हरिद्वार स्थित जेलमा राखियो ।
चम्पावत अदालतको फैसला विरुद्ध धनकुमारीले नैनीतालको उच्च अदालतमा पनि पुनरावेदन गरेकी थिइन् । उच्च अदालतले १० वर्षको कैद घटाएर ७ वर्ष पुर्यायो । अढाई वर्षकी छोरीलाई देहरादुन स्थित शिशु निकेतनमा राखियो । बिहिबार उनी रिहा हुनेदिन छोरीलाई पनि ल्याईएको थियो । हरिद्वार कारागारले शुक्रबार बनबसा प्रहरीको माध्यमबाट धनकुमारीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाएको हो । उनी शुक्रबारै गड्डाचौकीबाट घरतर्फ लागिन् ।
‘५ हजारको लोभमा मेरो घर परिवार नै बिग्रियो, दुधे वालकले समेत दु:ख पायो,’ ईलाका प्रहरी कार्यालयमा छोरीसंँगै भेटिएकी धनकुमारीले भनिन्, ‘चरेश बोक्दा कारवाही हुन्छ भन्ने थाहा त थियो, तर पारिवारीक अवस्थाले बाध्य बनायो ।’ अहिले उनकी छोरी ९ वर्षकी भईन् । उनी नेपाली बोल्न पनि जान्दिनन् । धनकुमारी जेल जानुभन्दा पहिले घरबाट भेटन जान्थे । कहिले उनकी आमा त कहिले श्रीमान गईराख्ने । तर जब अदालतले जेल सजाय सुनायो त्यसपछि भने उनलाइ भेटन कोही गएनन् । धनकुमारीका जेठा छोरा पनि भारतमै नौकरी गर्छन् । तर आमालाई भेटन जेलमा कहिल्यै नआएको उनले बताइन् ।