काठमाडौँ — एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्यसहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ । यो माघ मसान्तसम्म फोरजी सेवा देशैभर विस्तार गर्ने योजनासहित कम्पनीले अघिल्लो वर्ष माघ २० मा फोरजी विस्तारको लागि ठेक्का सम्झौता गरेको थियो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले दसैंअघि कम्तिमा २० प्रमुख सहरमा फोरजी विस्तारको तयारी भएको जानकारी दिए। उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गरिनेछ। नेपालभर ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन्।