कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ।
उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ।
दुवै पक्षले एकअर्काले युद्धविराम भङ्ग गरेको र आफूले प्रतिकार गरेको दाबी गरेका छन्।
परमाणुअस्त्र भएका दुवै देशले कश्मीरलाई लिएर दुईचोटि युद्ध र एकचोटि कार्गीलमा सीमित सङ्घर्ष गरिसकेका छन्।
यो वर्ष उनीहरूबीच तनाव धेरै बढेको छ।
फेब्रुअरीमा कश्मीरमा गरिएको एउटा आत्मघाती आक्रमणमा ४० सैनिक मरेपछि भारतले लडाकुलाई लक्षित गरेको भन्दै पाकिस्तानमा हवाई आक्रमण गर्यो। पाकिस्तानमा आधारित जैश-ए-मोहम्मद समूहले भारतपट्टि पुलवामामा आफूले आत्मघाती बम विस्फोटन गराएको स्वीकारेको थियो।
अगस्टमा भारतले आफूनियन्त्रित कश्मीरको आंशिक स्वायत्तता खोस्दा पाकिस्तानले त्यसको विरोध गर्यो। पाकिस्तानले भारतको उक्त निर्णयविरुद्ध अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको छ।
भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्छन्।