अकाठमाडौँ – अजिनोमोटो अर्थात् खानेकुरालाई स्वादिलो बनाइदिने, झट्ट हेर्दा चिनी जस्तै देखिने सेतो धूलो पदार्थ । बजारमा यसलाई सामान्यतः अजिनोमोटो भनेर चिनिने गरिन्छ । त्यसबाहेक यसलाई टेस्टिङ पाउडर भनेर पनि बोलाइने गरिन्छ । त्यसबाहेक, कतिपयले यसलाई मोनोसोडियम र छोटकरीमा एमएसजी भनेर पनि चिन्ने गर्छन् । खासगरी, चाइनिज वा जापानिज खानेकुराहरुमा एक किसिमले अनिवार्य जस्तै बनिसकेको, खानालाई स्वादिलो बनाइदिने मसलाको नाम हो अजिनोमोटो ।
खानालाई स्वादिलो बनाइदिने कुरामा अजिनोमोटो जति चर्चित छ, उत्तिकै ‘बदनाम’ चाहिँ यसले मानव स्वास्थ्यलाई हानि पु्र्याउँछ भन्ने कुरामा छ । खासगरी, अजिनोमोटोले टाउको दुखाउने, हड्डी खियाउने, क्यान्सर लगाउने जस्ता ‘विश्वास’ धेरै मानिसहरुले गर्ने गर्छन् । आफ्नो स्वास्थ्यप्रति अलि बढी नै चिन्ता गर्ने मानिसहरुले त अजिनोमोटो हालेको खानेकुरा नै नखाने अनि अरुलाई पनि नखानको लागि अर्ति उपदेश दिन समेत भ्याइहाल्छन् । अर्थात् बजारमा एक किसिमले अजिनोमोटोको आतङ्क नै छ भन्दा पनि फरक पर्दैन ।
के हो अजिनोमोटो ?
अजिनोमोटोलाई अंग्रेजीमा Monosodium glutamate (MSG) भनिन्छ । यो एमिनोएसिड ग्लुटामेट अर्थात् ग्लुटामिक एसिडको सोडियम साल्ट (sodium salt of glutami acid) हो । ग्लुटामिक एसिड हाम्रो शरीरको लागि खाइबस्न नपर्ने, गोलभेडा, अंगुर, चीज, च्याउ लगायत सबै खानेकुराहरुमा प्राकृतिक रुपमा नै पाइने र हाम्रो शरीरले पनि आफैं उत्पादन गर्ने एमिनो एसिडको एक रुप हो । यसले मानव मस्तिष्कमा न्यूरोट्रान्समिटरको रुपमा काम गरी सिकाइको प्रक्रिया र सम्झनाशक्तिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । हाम्रो शरीरलाई आवश्यक २० प्रकारका एमिनो एसिडहरुमध्येको एक ग्लुटामिक एसिड विशेष गरी गहुँ र भटमासमा बढी पाइन्छ । मुख्यतः उर्जाको स्रोतको रुपमा उपयोग हुने यो एसिडले थकानबाट जोगाउने काम गर्छ भन्ने मानिन्छ ।
ग्लुटामिक एसिड सन् १८६६ तिर जर्मन रसायनविद् कार्ल हेनरिकले पत्ता लगाएका थिए । सन् १९०८ मा आएर टोकियो शाही विश्वविद्यालयका प्राध्यापक किकुुने इकेदाले त्यो ग्लुटाकि एसिडलाई प्रशोधन गरी त्यसबाट सोडियम साल्ट अर्थात् मोनोसोडियम ग्लुटामेट निकाल्ने तरिका खोजेका थिए । खानेकुरालाई अत्यन्तै स्वादिलो बनाइदिने त्यो सोडियम साल्टलाई उनले उमामी (Umami) नामाकरण गरेका थिए । त्यसको एक वर्षपछि १९०९ मा उनकै अनुरोधमा सुजुकी फार्मास्यूटिकल कम्पनी लि.ले अजिनोमोटो कम्पनी, इन्क खडा गरी ‘अजिनोमोटो’को नाममा त्यसको व्यावसायिक उत्पादन थालेका थिए । जापानी भाषामा अजिनोमोटोको मोटामोटी अर्थ ‘स्वादको आधार’ भन्ने बुझिन्छ ।