बैतडीको सिगास गाउँपालिकाका ३० वर्षीय मनोज चन्द । २०४४ सालमा बुवा मानबहादुर चन्द र आमा जानकी चन्दको कोखबाट जन्मिएका मनोज सानैदखि सबै काम बायाँ हातले गर्थे । खाना खानेदेखि लिएर हरेक काममा उनी देब्रे हातको नै प्रयोग गर्थे । ५ वर्षको उमेरमा उनी विद्यालय भर्ना भए, त्यतिबेला उनी देब्रे हातले नै लेख्न थाले । सानो छँदादेखि नै जिस्काउन थालेका साथीहरुले उनलाई नौ कक्षामा पुग्दासम्म पनि ‘लेफ्टे’ भनेर जिस्काउन छोडेनन् ।
बिस्तारै उनलाई त्यो कुराले चोट दिन थाल्यो । ‘साथीहरुले लेफ्टे भनेर जिस्काएको कुराले नौ कक्षासम्म मेरो मनमा गहिरो घाउ बनाइसकेको थियो’, मनोजले भने, ‘त्यसपछि मलाई साथीहरुको मुखबाट मनोज भन्ने नाम बोलाएरै छोड्छु भन्ने लाग्यो ।’ त्यसपछि सुरु भयो मनोजको दाहिने हातबाट लेखनको प्रयास ।
‘सुरुवातमा त निकै गाह्रो भयो, सक्दिनँ कि भन्ने पनि लाग्यो’, मनोजले गम्भीर हुँदै भने, ‘तर, गरेको कोसिस खेर फाल्न पनि चाहेन मनले । मलाई मेरा साथीहरुले मेरो वास्तविक नामले बोलाएको सुन्नु पनि थियो । त्यसैले कोसिस जारी राखेँ ।’ उनको यो कोसिसले ३ महिनामा साकार रुप लियो । तीन महिनाको लगातारको प्रयासपछि मनोजले दायाँ हातमा कलम समातेर लेख्न सक्ने भए ।
दायाँ हातले लेख्नु उनको हठ (जुनुन) थियो । जुन उनले ३ महिनामै प्राप्त गरे । तर, मनोजको कोसिस त्यति मै सीमित रहेन । उनले शरीरका अन्य अंगको सहाराले पनि लेख्न सकिन्छ कि भनेर प्रयास गर्न थाले ।
‘सुरुवातमा रहरले हातको कुमको सहारामा कलम समातेर लेख्न कोसिस गरेपछि त्यसमा पनि सफल भए ।’ उनले मुस्कुराउँदै भने, ‘जब ६ महिनामा कुम पछि दुई खुट्टामा कलम राखेर लेख्न सफल भए । त्यसपछि लाग्यो दृढ इच्छा शक्ति भए संसारमा मानिसका लागि असम्भव केही छैन ।’ मनोज चन्द दुई वटा हात मात्र होइन, मुख, खुट्टा, कुहिना र दुवै हातमा ६ वटा कलम राखेर उल्टा सुल्टा सहजै लेख्न सक्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, उनी आफ्नो यही लेखन कलाका माध्यमबाट गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् ।
मनोज अहिले फरक क्षमता भएका व्यक्तिका लागि मात्र होइन, सबल व्यक्तिका लागि पनि प्रेरणाका स्रोत बनेका छन । मनोजले दुईवटा विषयबाट स्नातकोत्तर समेत गरेका छन् । तर, उनी राम्रो पारिश्रमिक पाउने जागिर छोडेर संसारका व्यक्तिलाई प्रेरणा छर्नमा व्यस्त छन् । मनोजले हर्षित मुद्रामा भने, ‘मैले दुई वटा विषयमा डिग्री हासिल गरेको छु । चाहेँ भने म भोलि नै राम्रो तलबको जागिर पाउन सक्छु । तर, मलाई अन्य देशमा पनि देखाउनु छ कि नेपालमा पनि क्षमतावान व्यक्ति छन् भनेर ।’
आफूमा भएका क्षमता विश्वसामु देखाउने लक्ष्य लिएर २०६८ सालदेखि अभियानमा निस्किएका मनोजले नेपालका लगभग ७२ जिल्ला र २५ वटा देशमा पुगेर आफ्नो लेखनकला प्रस्तुत गरिसकेका छन् । उनी संसारभरका व्यक्तिले आफ्नो क्षमता देख्न पाउन चाहन्छन् । त्यसैले मनोजले एक सय देशमा पुगेर आफ्नो लेखन कला प्रस्तुत गर्ने तयारीमा रहेको बताएका छन् ।
विशेष गरी फरक क्षमता भएका व्यक्तिहरुलाई शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने चाहना आफ्नो रहेको उनले बताए । ‘मैले आफ्नो लेखनकला प्रस्तुत गर्न जाँदा मेरो टार्गेट ग्रुप भनेको पनि फरक क्षमता भएका व्यक्ति नै रहने गर्छन्’, मनोजले भने ।
यसरी मनोज अहिले दायाँबायाँ दुवै हातले सँगै उल्टासुल्टा अक्षर पनि सहजै लेख्छन् । ‘म दुवै हातमा ६ वटा कलम समातेर सहजै उल्टो सुल्टो अक्षर लेख्न सक्छु’, मनोजले भने, ‘मुख, दुवै कुहिना र दुवै खुट्टाले पनि लेख्न सक्ने कला ममा छ ।’ मनोज उल्टो र सुल्टो गरी ६ सेकेण्डमा एदेखि जेडसम्म पनि लेख्न सक्छन् ।
मनोजको यो लेखन कला देखेपछि फरक क्षमता भएका धेरै व्यक्तिले सकारात्मक प्रतिक्रिया जनाएको उनी बताउँछन् । मनोजले शरीरका जुनसुकै अंगको सहाराले लेखेका अक्षरको आकार र स्पष्टता भने एकनासको हुन्छ ।
घरको जेठा छोराका रुपमा जन्मिएका मनोजका एक भाइ र दुई बहिनी छन । सबैजना पढाइसँगै आकर्षक तलब खाइरहेका छन् । तर जेठा छोराका रुपमा जन्मिएका मनोज यसरी देश घुमिरहेको उनका आमाबुवालई भने मन परेको छैन ।
निर्मला खडायतले उज्यालो ९० नेटवोर्कमा समाचार लेखेका छन्