
एजेन्सी – चीनमा आर्थिक सुधार सुरु भएको चार दसक पुगेको छ l । यो अवधिमा त्यस सुधारले चीनलाई एक गरिब राष्ट्रबाट आर्थिक महाशक्तिमा बदलिदिएको छ ।
यो वृहद परिवर्तनको अवधिलाई ‘सुधार र खुलापन’ भनिन्छ ।सन् १९७८ सेप्टेम्बरमा तत्कालीन शक्तिशाली राजनीतिज्ञ तथा भावी नेता देङ स्याओपिङले कम्युनिस्ट पार्टीका नेताहरूको भेलालाई दिएको भाषणले चीनमा आर्थिक सुधार सुरु गराएको मानिन्छ । त्योबेला चीनको कुल ग्राहस्थ उत्पादन १५० अर्ब अमेरिकी डलर मात्र थियो ।
४० वर्षपछि यो बढेर १२० खर्ब अमेरिकी डलर पुगेको छ । हाल चीन अमेरिका पछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो ।
तर उक्त भाषणको ४०औँ वार्षिकोत्सवको अवसरमा चीनको आर्थिक चमत्कारको भविष्यलाई निर्णय लिएर एक युद्ध जारी छ ।

अहिले चीन एउटा महत्त्वपूर्ण मोडमा आइपुगेको छ । हाल यो देश दुई खेमाको खिचातानीमा परेको छ । एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता नेता छन्, जो दबाब दिएर यसलाई अझ बढी खुला अर्थतन्त्रतर्फ तान्न चाहन्छन् । अर्कोतर्फ चिनियाँ नेता सी जिनपिङ छन्, जो चिनियाँ अर्थतन्त्रसमेत त्यहाँको समाजका सम्पूर्ण पक्षहरूमाथि पुनः नियन्त्रण स्थापित गराउन चाहन्छन् ।
देङको युग
‘सुधार र खुलापन’ले यति ठूल्लो परिवर्तन ल्याएको छ र यति दूरगामी असर गरेको छ कि आधा शताब्दीपछि चीन जाने मान्छेले आफू अर्कै ठाउँमा पुगेको ठान्छ ।
सन् १९७८ मा चीनमा चरम गरिबीले व्याप्त थियो, जुन दशकौँसम्म अङ्गीकार गरिएको ध्वंशात्मक आर्थिक र राजनीतिक कुव्यवस्थापनको परिणाम थियो । ग्रामीण क्षेत्रमा बस्ने करोडौँ मजदुरहरू कुपोषणबाट पीडित थिए । अर्थतन्त्र टाट पल्टिने अवस्थामा थियो ।
आज चीनसँग विश्वव्यापी धनको १० प्रतिशत हिस्सा रहेको छ । पछिल्लो २० वर्षमा मात्रै त्यहाँका नागरिकको प्रतिव्यक्ति धन चार गुणाले बढेको छ । आज चीनको १ प्रतिशतभन्दा कम जनसङ्ख्या मात्र चरम गरिबीबाट पीडित छ ।
चीनमा हाल ६०० जना अर्बपति (डलरमा) छन् । यो विश्वको कुनै एक देशको सबैभन्दा धेरै हो ।
ऐतिहासिक रूपमा चीनको यो अकल्पनीयको उदयको ठूलो जस देङलाई जान्छ । अध्यक्ष माओ जेदुङको मृत्युपछि देशमा छाएको अराजकताबीच शक्ति हातमा लिएका देङलाई साहसी सुधारक मानिन्छ ।
देङले निमार्ण गर्न सघाएको प्रणाली मौलिक, प्रयोगात्मक शैलीको थियो । उनले एक पार्टी शासन प्रणालीलाई कायम राखेर अर्थतन्त्र र व्यक्तिगत स्वतन्त्रतालाई केही खुकुलो बनाए ।
देङले भनेको भनिने एक चर्चित उद्धरण यस्तो छ, “बिरालोले मुसा मारेसम्म त्यो कालो छ कि सेतो छ, त्यसको मतलब हुँदैन ।”
विस्तारै विस्तारै देश बदलिन सुरु गर्यो । किसानहरू अतिरिक्त उत्पादन बेच्न र त्यसबाट फाइदा कमाउन सक्षम भए । उद्यमीहरूले आफ्नै उद्योग खोले । स्वतन्त्र व्यापारको अनुमति भएको ‘विशेष आर्थिक क्षेत्र’ देशका निर्धारित क्षेत्रमा स्थापना गरिए ।
चीन अब गरिब देश रहेन । केही देशकमै यो देश चिन्न नसक्ने गरी बदलिएको छ । सन् २०१८ मा उत्सव मान्नलाई चीनसँग धेरै कुरा छ ।
बेइजिङमा यी बदलाबहरूलाई मनाउनका लागि यो वर्षको प्रारम्भमा आकर्षक नयाँ प्रदर्शनी खुलेको थियो । यसले दैनिक हजारौँ भ्रमणकर्ताहरू आकर्षित गर्छ । केही कक्षहरूले चीनको तीव्र गतिको प्राविधिक प्रगतिलाई झल्काउँछ । यसमा उसको अन्तरिक्ष कार्यक्रम पनि समावेश छ । अन्यमा विगत र वर्तमान कम्युनिस्ट नेताहरूको उद्धरणहरू रहेका छन् ।
तर केही भ्रमणकर्ताहरूले प्रदर्शनमा केही फरक देख्न थालेका छन् । पछिल्लो समय सी देङभन्दा बढी प्रधान देखिन थालेका छन् । चीनका केही उदार प्राज्ञहरूले पर्दा पछाडि ट्रम्पको कदमलाई अझ बढी आर्थिक खुलापन माग गर्नको लागि दबाबको रूपमा प्रयोग गरिरहेका छन् ।
