गण्डकी — जनप्रतिनिधिहरुको सेवासुविधामा अत्यधिक वृद्धि गरेपछि आलोचना खेपिरहेको गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ । यो लोगो यसअघिको भन्दा ३३ गुणा महँगो छ । चीनको संघाई प्रान्तमा बनाइएको लोगोको मूल्य प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ छ ।
लोगोमा धातुको रुपमा चाँदी प्रयोग गरिएको छ भने बाहिरी भागमा सुनको जलप लगाइएको छ ।गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि सुनजडित लोगो बनाएर सांसदहरुलाई वितरण गरिएको हो। यसअघिको प्रतिगोटा लागोको मूल्य १ सय ९५ रुपैयाँ थियो। लोगोमा प्लास्टिक प्रयोग गरिएको थियो।