
दक्षिण कोरिया — बिश्वकर्मा समाज दक्षिण कोरियाले आयोजना गरेको “चौथो बिश्वकर्मा भलिबल कप–२०२६” को उपाधि स्याङ्जा समाज दक्षिण कोरियाले जितेको छ। प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा स्याङ्जा समाजले बाग्लुङ समाज दक्षिण कोरियालाई पराजित गर्दै च्याम्पियनको उपाधी हासिल गर्यो।
दुवै टिमबीचको प्रतिस्पर्धा कडा र दमदार रहेको थियो, जहाँ दर्शकहरूले अन्तिम क्षणसम्म रोमाञ्चक खेल हेर्ने अवसर पाए। स्याङ्जा समाजका खेलाडीहरूले उत्कृष्ट तालमेल र खेल कौशल देखाउँदै फाइनलमा बाग्लुङ समाजलाई कडा प्रतिस्पर्धा दिँदै जित निश्चित गरे।
च्याम्पियन टिम स्याङ्जा समाज दक्षिण कोरियाले उपाधिस्वरूप नगद रु. २२ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
बिश्वकर्मा समाज दक्षिण कोरियाद्वारा प्रत्येक वर्ष आयोजना हुने यस भलिबल प्रतियोगिताले प्रवासमा रहेका नेपाली समुदायबीच खेलकुद, एकता र सद्भावना प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यस वर्षको प्रतियोगितामा विभिन्न जिल्लाका समाजहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
स्याङ्जा समाजको यो जितले प्रवासी नेपाली समुदायमा खुसीको लहर ल्याएको छ, साथै भलिबल प्रेमीहरूमा आगामी प्रतियोगिताप्रति थप उत्साह थपिएको छ।


