सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

‘नेपाली बृहत् शब्दकोष’ पुस्तक प्रदर्शनीमा पाठकको मुख्य रोजाइमा

काठमाडौं –  नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा ‘नेपाली बृहत् शब्दकोष’ पाठकको मुख्य रोजाइमा परेको छ।यही पुस १५ गतेदेखि सुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो। प्रदर्शनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेको हो। उक्त पुस्तक गत साउनमा दशौँ संस्करण निकालिएको थियो। अहिलेसम्ममा सो पुस्तक दुई हजार प्रति बिक्री भएको मेलाका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए। त्यसैगरी ‘विश्वका प्रमुख धर्म’ नामक पुस्तक पनि पाठकको रोजाइमा परेको छ। उक्त पुस्तक पनि ६०० प्रति बिक्री भएको छ।

यस पुस्तकमा विश्वमा मानिँदै आएको मुख्य धर्म र त्यसको उत्पत्तिका बारेमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो। प्रतिष्ठानको कार्यालय परिसरमा जारी प्रदर्शनी यही पुस २९ गतेसम्म चल्ने छ। मेलामा भाषा, साहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तक राखिएको छ। मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय