सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सरकारले दुइ तिहाइ बहुमतको आडमा दम्भ देखायो ;काँग्रेस नेता सुरेन्द्रराज पाण्डे

गोरखा – नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारले दुइ तिहाइ बहुमतको आडमा दम्भ देखाएको आरोप लगाएका छन् ।

डा. गोविन्द केसीका माग पूरा नगरी सरकारले दुई तिहाई बहुमतको आडमा दम्भ देखाएको आरोप उनको छ । उनले केपी ओली नेतृत्वको सरकारले नै गत साउन १० गते डा. केसीसँग गरेको सम्झौता विपरित प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतकै आडमा पारित गरेर सरकारले दम्भ देखाएको आरोप लगाएका हुन्।

‘डा. केसीको १५ औं सत्याग्रहका क्रममा ओली सरकारले गरेको सम्झौता अनुरुप विधेयक पारित नगरेर सरकार आफ्नै निर्णयबाट पछि हटेर दुई तिहाइको दम्भमा उक्त चिकित्सा शिक्षा विधेयक पारित गरेको हो।’ उनले भने, ‘सरकारले न्यायलय, सुरक्षा निकाय, प्रशासन सबै ठाउँमा बहुमतको दबदबा बनाएको छ।’

उनले भने ‘केपी ओलीले पूरा कार्यकाल सरकार चलाउने छाँटकाँट देखिँदैन।’ सरकारले गर्नुपर्ने काम, नागरिकको आवश्यक्ता र चाहना अनुसार सन्तोषजनक नभएको बताउँदै उनले आवश्यक कानुन ल्याउन नसक्दा संसदलाई बिजनेस दिन सरकार असफल भएको टिप्पणी समेत गरे। उनले भने,‘हामी संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको उक्त चिकित्सा शिक्षा विधेयकको समर्थनमा छैनौँ, सम्झौता एउटा गर्ने विधेयक अर्को ल्याएर बहुमतको दम्भ प्रष्ट देखिएको छ।’

नेपाल प्रेस युनियन गोरखा शाखाले बिहीवार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले ओली सरकारमाथि उक्त आरोप लगाएका हुन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय