काठमाडौँ — विदेशमा नेपाली श्रमिक पठाउँदा म्यानपावर व्यवसायीले राख्ने धरौटी रकमबाट पीडितलाई क्षतिपूर्ति दिनै पुग्दैन । म्यानपावरले करार गरेको सेवासर्त पूरा नभएर फर्किएका र उच्च लागत शुल्क लिएर उजुरी दिने पीडितलाई वैदेशिक रोजगार विभागले धरौटीबाट क्षतिपूर्ति दिन थालेको छ । पीडितको संख्या बढ्दै गएकाले थौरै व्यक्तिले मात्र क्षतिपूर्ति पाउने गरेका छन् ।
युरो नेपालद्वारा टर्की पठाइएका श्रमिकहरू दुई वर्षे करारपत्र नसक्दै फर्किन थालेका छन् । युरोले टर्कीमा झन्डै ९ सय श्रमिक पठाएको थियो । तीमध्ये तीन सय जना फिर्ता भइसकेका छन् । ‘पहिलो पटक ९ जनाले उजुरी हालेका थिए, छानबिन गरी २७ लाख रुपैयाँ दिलाइयो,’ विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले कान्तिपुरसँग भने, ‘म्यानपावरको धरौटीबाट क्षतिपूर्ति दिइएको हो ।’