
दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ बैसाखदेखि ल्याउने सुनिश्चित भएको छ।
सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म करिब ७० किलोमिटर लम्बाइको छ। तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय सहर रक्सौल बजारदेखि बाराको अमलेखगन्जसम्म ३७ दशमलव २५ किमि छ।
परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम द्रुतगतिमा भइरहेकाले बैसाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ।
नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर भू–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म करीब एक किमी र पर्सा राष्ट्रिय निकुञ्जको ९ किमि गरी कुल १० किमी भू–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले बताए।

भारत विहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले सो क्षेत्रमा करिब ४ किमी पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराई वीरगन्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको बताइएको छ।
नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेसन (आइओसी) को २ अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ।
परियोजनाले सन् २०१९ को फेब्रुअरीसम्म पाइप गाड्ने काम सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ। जितपुर तथा परवानीपुरको केही भू–भागमा जमीनमुनि दुलो पारेर (ड्रिलिङ प्रविधिबाट) पाइप गाडिएको छ। यो प्रविधिबाट सडकको पैदलमार्ग को ठिक तल जमिनमुनि आठदेखि १६ मिटरसम्म पाइप गाडिएको छ।
पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यस भेगका करिब ६ हजार ५ सय ठूला तथा ४ हजारजति साना रुख काट्नुपर्ने देखिन्छ।
पहिलो चरणमा ९० किलोलिटर प्रतिघन्टा
पहिलो चरणमा एक सय ९० किलोलिटर प्रतिघन्टाका दरले विहारको राजधानी पटनाबाट डिजेल आउनेछ। तर मोतिहारी डिपो सञ्चालनमा आएपछि प्रतिघन्टा २ सय किलोलिटर डिजेल अमलेखगन्ज डिपोमा भण्डारण हुनेछ। भारतीय पक्षले सन् २०१९ सम्म मोतिहारी डिपोको निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ।
मल्टी प्रोजेक्ट पाइपलाइन भएकाले यसबाट डिजल, पेट्रोल र मटितेलसमेत आयात हुनेछन्। मागको करिब ६० प्रतिशत डिजेल पाइपबाट नेपाल भित्रिने नेपाल आयल निगमले जनाएको छ।
नेपाल आयल निगमले अहिले भारतको बैरगनिया र रक्सौलस्थित भारतीय आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थ पेट्रोल, डिजल, मट्टितेल, हाइस्पीड डिजल र हवाई इन्धन ट्याङ्करमार्फत अमलेखगन्ज डिपोमा आयात गर्दै आएको छ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि भारतको डिपोबाट प्रतिघन्टादुई लाख लिटर इन्धन अमलेखगन्ज डिपोमा ल्याउने लक्ष्य नेपाल आयल निगमले लिएको छ।
सरकारले मोतिहारी अमलेखगञ्ज पाइपलाइनलाई भविष्यमा विस्तार गरी चितवनसम्म लैजाने लक्ष्य लिएको छ। रासस
