धादिङ–कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले गोरुजुधाई कार्यक्रम पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण पक्ष भएको बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टे–फ्याक्सेमा माघेक्रान्तिको अवसरमा आयोजित पाँचौ गोरुजुधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले गोरु जुधाई कार्यक्रमलाई पर्यटनका विभिन्न विधामा जोडेर अघि बढाइनु सान्दर्भिक हुने बताए ।
उनले कतिपयले पशु जुधाएर मनोरञ्जन लिनु गलत भनेपनि आफूलाई त्यस्तो नलाग्ने भन्दै यस्ता संस्कृतिले विगत सम्झन र आर्थिक विकास गर्नका लागि ढोका खोल्ने धारणा राखे ।
‘कतिले पशु जुधाएर किन मनोरञ्जन लिएको भन्न सक्लान् । तर मलाई लाग्छ, केही परम्परा यस्ता छन् जसले हामीलाई अगाडि बढ्न, विगत सम्झनको लागि र आर्थिक विकास गर्नका लागि ढोका खोल्दछ । यो कार्यक्रमका लागि ऐक्यबद्धता जाहेर गर्दछु ।’
नेपालको समृद्धि र विकास नै सरकारको लक्ष्य भएको भन्दै खनालले यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकास र स्थानीयको आर्थिकस्तर सुधारमै महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे ।
‘नेपालको समृद्धि र विकास नै हाम्रो लक्ष्य हो । त्यसको प्राप्तिको लागि हामीले कृषि, पर्यटन, ऊर्जाजस्तै अरु कयौँ कार्यक्रमहरु अघि बढाउनु परेको छ’, उनले भने, त्यसकारण यो कार्यक्रमले यहाँहरुलाई एकताबद्ध मात्रै पार्ने छैन, देशैभरी सकारात्मक सन्देश प्रवाह गर्नेगरी यहाँहरुले पर्यटन व्यवसाय, कृषिमा आधुनिकीकरण, उद्योगधन्दा र ऊर्जाको क्षेत्रमा रहेका असीमित सम्भावनाहरुलाई विकास गर्नका लागि धेरै नै महत्व राख्दछ ।’ गोरु जुधाई कार्यक्रम मनोरञ्जनको माध्यम मात्रै नभएर संस्कृति पनि भएकाले यसको जगेर्ना गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए ।