सुर्खेत- सुर्खेतको लेकबेशी जंगलमा बसेका राउटे समुदायलाई निजामती कर्मचारीले प्रयोग गर्ने रंगको कोट दिए पनि राउटेले एक हप्ता पनि टिकाउन सकेनन् । गुन्यको पछ्यौरा ओढ्ने र आफ्नो छुट्टै पहिरन भएका राउटेहरु समुदायमा कोट बाँड्न प्रदेश सरकारले ८ लाख खर्च गरेको जनाएको छ । सरकारले कोटसहित अन्य न्यायो कपडा र खाद्यान्न पनि बाँडेको थियो । तर राउटेले खाद्यान्नबाहेक सबै कपडाहरु रक्सीमा साँटेको स्थानीयहरुले बताएका छन् ।
राउटेका लागि कर्णाली प्रदेश सरकारले ८ लाख खर्चेर वितरण गरेका कोट राउटेले मदिरासँग साटेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले एक हप्ता अघि राउटेलाई जाडोका लागि भन्दै न्यानो कपडासँगै कोट वितरण गरेको थियो ।
राउटेले सरकारले दिएको न्यायो लुगा र कोटहरु सस्तोमा बेचेको र रक्सीमा साटेको स्थानीयको भनाई छ । उनीहरुले कोट नलगाउने भन्दै स्थानीयसँग रक्सीमा साटेको लेकबेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले बताए । सरकारले राउटेलाई उपलब्ध गराएको न्यानो कपडा, खाद्यान्न र कम्बलहरू १÷२ दिनमै उनीहरुले रक्सीमा साटेको उनले बताए ।
राउटेको उत्थान र जीवनशैली सुधारका लागि भन्दै मन्त्रालयले न्यानो कपडा वितरणका लागि मात्रै ३ लाख ८८ हजार एक सय रुपैयाँ खर्च गरेको मन्त्रालयका महिला विकास शाखाका अधिकृत अनिता ज्ञवालीले बताईन् । मन्त्रालयले राउटे उत्थान प्रतिष्ठान केन्द्रनामक संस्थालाई रकम उपलब्ध गराएको थियो । मन्त्रालयको रकम खर्चेर प्रतिष्ठानका केही कर्मचारी राउटे बस्तीमा पुगेका थिए ।
राहत बिक्री गर्न अगुवाकै सल्लाह
राउटेको उत्थान र संरक्षणका लागि भन्दै जुटेका अभियन्ताहरु नै राउटेहरुलाई राहत सामाग्री बिक्री गर्न र रक्सी खान सिकाउने गरेको स्थानीयको आरोप छ । सरकारले आफुहरुलाई न्यानो कपडा दिन थालेको थाह पाए पछि उनीहरुले आधुनिक कपडा नलगाउने अडान लिएका थिए । तर, राउटे उत्थानका लागि काम गर्ने केही अगुवाहरुले सरकारी अधिकारी सहित आउने भएकाले उक्त सामाग्री बुझेर पछि बिक्री गर्ने सल्लाह दिएको स्थानीयले बताए । ‘केही गैरसरकारी संस्थाहरुले आफ्नो स्वार्थका लागि राउटेहरुलाई मदिरामा आकर्षित गर्ने गरेका छन्’ एक स्थानीयले भने ।साभार: नया पत्रिका