एजेन्सी- मलेसिया जहाँ राजा पनि निर्वाचित हुन्छन् lमलेसियाको राजसभाले नयाँ राजाका रूपमा सुल्तान अब्दुल्ला अहमद शाहलाई निर्वाचित गरेको छ। संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाका १६ औं राजा भएको अधिकारीले जनाएका छन्।
मुस्लिम बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयाअधि नसकिँदै राजीनामा दिने उनी पहिलो राजा हुन्। उनले रूसकी पूर्वसुन्दरीसँग विवाह गरेकाले राजीनामा दिएका हुन्। यद्यपि यसबारेमा औपचारिक रूपमा कुनै जानकारी दिइएको छैन। राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय राजा सुल्तानले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए। राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए। मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन छ। त्यही परम्पराअनुसार ५९ वर्षीय अब्दुल्ला पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन्।
नयाँ राजा अब्दुल्लाका पिता सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्ला त्यस राज्यको सुल्तान बनेका थिए। अस्वस्थताको कारण देखाउँदै उनका पिताले पद त्याग गरेका थिए। नयाँ राजा अब्दुल्ला खेलकुदमा अत्यधिक संलग्न व्यक्ति हुन्। उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि भइसकेका छन्। उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन्।
उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रूपमा घोषणा गरिएको छ। यसअघि पनि कार्यवाहक राजाको जिम्मेवारी सम्हालेका भएका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रूपमा फेरि पाँच वर्षका लागि निरन्तरता दिइएको हो।