एजेन्सी- फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ।यी तीनैवटा एप छुट्टाछुट्टै रहनेछन्, तर तीनै एपबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढङ्गबाट तिनलाई जोडिने बताइएको छ।यो लामो प्रकृयाको अन्तपछि एक जना फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्नेछ जुन हाल सम्भव छैन।
अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्।मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबुकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ। उसले थप प्रतिस्पर्धी नयाँ नयाँ फिचरहरूको विकास गर्नुपर्ने छैन।
एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई समेत सजिलै जानकारी पठाउन सकिने छ। यसले फेसबुकको डाटा तीनवटै एपहरूमा पठाउन सक्नेछ। यसबाट विज्ञापनको दायरा बढ्नेछ।