एजेन्सी– भारतको बिहारमा भएकाे रेल दुर्घटनामा ७ जनाकाे मृत्यु भएको छ। जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको ११ कोचको रेल लिकबाट झरेर दुर्घटना भएको हाे ।
दुर्घटना बैशाली जिल्लाकाे हाजीपुर-बछवाड़ा रेलखण्डकाे महनार र सहदोई स्टेशनबीच भएको भारतीयसञ्चारमाध्यमहरुले जनाएका छन् ।दुर्घटना परी ३२ जना घाइते समेत भएका छन् ।
पूर्व मध्य रेलवेका प्रवक्ता राजेश कुमारका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएका छन् । कतिपय यात्रुहरु डिब्बामै फसेका छन्। उनीहरुको उद्धारकार्य जारी छ।घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएको छ। साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन्। रेल दुर्घटनाको कारण भने खुलेको छैन। प्रधानमन्त्री नरेन्द्र माेदीले टि्वटर मार्फत दुःख ब्यक्त गरेका छन्।