एजेन्सी– भेनेजुएलाको राजधानी काराकासमा राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका छन् । योसँगै भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएको छ ।
दुवैले आ–आफ्ना सर्थकलाई सम्बोधन गरेका छन् । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए । यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।
भेनेजुएलामा हजारौँ मानिसले राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
यस्तै मादुरोका समर्थकले पनि प्रदर्शन गरेका छन् । सो प्रदर्शनलाई सम्बोधन गर्दै मादुरोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो पक्षमा भएका प्रदर्शनलाई नसमेटेको आरोप लगाए । युरोपियन युनियनले राष्ट्रपतिका लागि नयाँ चुनावको घोषणा गर्न दिएको समय सीमाको अघिल्लो दिनमा मादुरोका समर्थकले प्रदर्शन गरेका हुन् ।
गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ । केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ ।
मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।