बिबिसी ,फिलिपिन्सको राजधानी मनिलामा दादुरा तीव्र रुपमा फैलिएपछि महामारीको घोषणा गरिएको छ । सरकारी अधिकारीले मनिलामा दादुरा महामारीको घोषणा गरेका हुन् ।
तीव्र गतिमा दादुरा भाइरसको संक्रमण बिस्तार भएपछि महामारीकै अवस्था घोषित गर्नु परेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । फेब्रअरी २ सम्मा कम्तिमा ८६१ जनामा दादुराको संक्रमण भएको फिलिपिन्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रम हुनेमा अधिकांश बालबालिका छन् ।
अहिलेसम्म संक्रमणका कारण झण्डै ५० जनाको ज्यान गएको छ र त्यसमा अधिकांश बालबालिका छन् । दादुराविरुद्धको खोप नलगाएका २० लाख भन्दा बढी बालबालिका जोखिममा रहेको सरकारी अधिकारीले बताएका छन् ।
दादुराको संक्रामक भाइरस वायुबाटै तीव्र गतिमा अरुमा सर्ने गर्छ । यसले गर्दा फोका आउने तथा छालामा रातो डाबर हुने, ज्वरो आउनेसहितका लक्षण देखिन्छ । दादुराविरुद्धको खोप लगाउनु नै यसको सबैभन्दा उत्तम विकल्प रहेको डाक्टरले बताएका छन् ।