सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मुक्त हलियाको गुनासो : ‘वास्तविक हलियाभन्दा पहुँच भएका टाठाबाठाले फाइदा लिए ’

बैतडी,  मुक्ति घोषणा हुँदा आगामी दिन केही हदसम्म भए पनि सुखी हुने सपनामा थिए हलिया परिवार। तर, परिणाम विपरीत भइदियो, झनै दयनीय बन्यो जीवन। जिल्लाका कतिपय मुक्त हलियाको लगत संकलनसमेत हुन सकेको छैन।

मुक्त हलिया दैनिक गुजारा चलाउनै नसक्ने अवस्थामा छन्। मालिककै जमिनमा बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। ‘केहीलाई परिचयपत्र दिएर सरकार पन्छिन खोजेको छ,’ राष्ट्रिय हलिया मुक्ति समाजका पूर्वअध्यक्ष राजु भुलले भने,’ छुटेकाको पहिचान र सबैको पुनःस्थापना गरिनुपर्छ।’ उनीहरूसँग सीप र ज्ञान भए पनि व्यावसायिक बनाउन नसक्दा समस्या भएको अगुवाहरू बताउँछन्। हलो, काठ, घर, जुत्ता बनाउने सबै सीप उनीहरूसँग भएको हलिया अगुवा डम्बर टमटाले बताए।भोगचलन गर्दै आएको जग्गा नामसारी, न्यूनतम एक लाख क्षतिपूर्ति, पुनःतथ्यांक संकलन, हलिया श्रम निषेध ऐन जारी, बालबालिकालाई निःशुल्क प्राविधिक शिक्षा, उपचार र छात्रवृत्ति दिनुपर्ने उनीहरूको माग छ।

दुई दिनका चिल्ला र मीठा आश्वासनले के गर्नु,’ दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका रमेश महरले भने ‘चाउचाउ, बिस्कुट खान पाइन्छ भनेर तालिम र गोष्ठीमा जान्छौं तर जीवन कहिल्यै सुध्रिने होइन।’ गाँसबासको व्यवस्था त टाढाको कुरा, परिचयपत्र पाउनसमेत सकेका छैनन्। लगत संकलनका लागि सरकारी र गैरसरकारी संस्थामार्फत लाखौं खर्च भइसके पनि अझै पूरा भएको छैन। जिल्लामा वास्तविक हलियाभन्दा पहुँच भएका टाठाबाठाले फाइदा लिएको मुक्त हलियाले बताएका छन्। हलियाको नाममा बलियाले फाइदा लिएको पाटनकी जानकी दमाईले बताइन्।

सूचीमा नपरेपछि पुनःस्थापनाको प्याकेजमा समावेश नगरेको भन्दै जिल्लाका छुटमुक्त हलियाहरु आक्रोशित छन्। सोमबार दशरथचन्द नगरपालिकाको सभाहलमा जिल्लास्थित सरोकारवालासमक्ष उनीहरुले दुखेसो पोखे। ‘मुक्त भएयता ज्याला मजदुरीको काम नपाए भोकै बस्नुपर्छ,’ सुर्नया गाउँपालिका–५ की हरु विकले भनिन्, ‘गाउँमा धेरै जना छुटेका छन्, खान लाउन समस्या भएपछि भारत गएर मजदुरी गर्नुपर्ने बाध्यता छ।’ मालिकबाट मुक्ति पाएयता स्वतन्त्र र स्वाभिमानी होइन, झनै कष्टकर जीवनयापन गरिरहनुपरेको मुक्त हलियाको गुनासो छ। ‘न हलियाको परिचयपत्र पायौं न त सरकारी सेवासुविधा,’ दशरथचन्द नगरपालिका–५ का कृष्ण लावडले भने, ‘मालिकको हलो जोत्ने काम छुटेपछि झन् समस्या भएको छ।’  नागरिक न्युज बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय