धनगढी प्रिमिएर लिग क्रिकेटको इमर्जिङ स्टार यू–१९ टोलीले अर्को वर्ष दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ । डिपिएलको प्रदर्शनका आधारमा छनोट हुने १४ खेलाडीले दक्षिण अफ्रिका भ्रमणको अवसर पाउने भएका हुन् ।
डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको डिपिएलका अध्यक्ष सुवास शाहीले जानकारी दिए । शनिबार डिपिएलको समापनपछि १४ सदस्यीय खेलाडीको घोषणा गरिने बताइएको छ ।
डिपिएलका सद्भावनादूत दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी जोन्टी रोड्सले नेपाली युवा खेलाडीका लागि भ्रमण महत्वपूर्ण हुने बताए । आज धनगढीमा पत्रकार सम्मेलन गरी रोड्सले भ्रमणले युवा खेलाडीमा क्षमता बिकास हुने बताए । डिपिएल इमर्जिङ स्टारले दक्षिण अफ्रिका प्रान्तिय र स्थानीय उमेर समूहका खेलाडीको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
डिपिएल अध्यक्ष शाहीले डिपिएल खाली दुई साताको प्रतियोगितामा मात्र सीमित नहुने र दीर्घकालिन योजनाका साथ काम गरिने बताए । स्पोर्ट्स एडका अशिष केसीले भ्रमणका लागि ४० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको बताए । छनोट हुने खेलाडीलाई पनि आर्थिक भार नपारिने केसीले प्रष्ट पारे ।