सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउनका लागि सूचना तथा प्रविधि विधेयक ल्याइएको बताएका छन् । फेसबूक चलाउन व्यक्ति व्यक्तिले दर्ता गर्नुपर्ने कुरा गलत भएको उनले बताए ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सूचना तथा प्रविधि विधेयक २०७५ पेश गर्ने क्रममा मन्तव्य राख्दै मन्त्री बाँस्कोटाले नेपाललाई डिजिटल नेपालतर्फ लैजान कानूनी अन्यौल रहनु हुँदैन भनेर विधेयक ल्याएको बताएका हुन् ।
‘फेसबूक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाललाई दर्ता गर्ने प्रचलन अन्यत्र पनि छ, नेपालमा यसलाई गलत ढंगले प्रचार गरेको पाइयो,’ मन्त्री बाँस्कोटाले भने, ‘सामाजिक सञ्जाललाई मानव समाजको हितमा प्रयोग गर्दा नवीनतम् चिज र गलत ढंगले प्रयोग गर्दा घातक हतियार हो । साइबर सुरक्षाको नीतिगत व्यवस्थाका लागि यो विधेयक ल्याइएको हो ।’
मन्त्री बाँस्कोटाले फेसबूक व्यक्तिव्यक्तिले दर्ता गर्नुपर्ने भनेर गरिएको प्रचार गलत भएको बताए । अमेरिका, बेलायत, जर्मनी, भारत, इजिप्ट लगायतका देशमा सामाजिक सञ्जाल दर्ता गर्ने विषयलाई गम्भीरताका साथ लिइएको उनले बताए ।
मन्त्री बाँस्कोटाले सूचना प्रविधिलाई देशको विषेशता र मौलिकतामा प्रयोग गर्ने गरी विधेयक ल्याइएको बताए ।