सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

यस्ता छन् खुट्टा बाउँडीने कारण र रोकथाम

खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।

पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लग्छ। सबै उमेरका मनिसमा यो समस्या देखिने भए पनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ।

पोषक तत्वको अभाव

पोषक तत्वहरू (जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु पल्टिने गर्छ। यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन्।

लामो समयसम्म उभिँदा

कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा पल्टिने हुन्छ। सन् २०१२ मा इर्गोनमिक्समा प्रकाशित एक अध्ययन अनुसार लामो समयसम्म उभिनु खुटृा पल्टनुको एउटा महत्वपुर्ण कारण हो। उक्त अध्ययनले यस्तो समस्या भएमा रोकथामका लागि लामो समयसम्म नउभिन सुझव दिएको छ। साथै अप्ठेरो गरेर बस्ने र अप्ठेरो गरेर सुत्ने बानीले पनि खुटृा पल्टन सघाउँछ।

जलवियोनन

शरीरमा प्रयाप्त मात्रामा तरल पदार्थ हुँदा यसले शरीर तथा दिमागलाई स्वस्थ बनाउन सहयोग गर्छ। यसले हाम्रो शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पुर्‍याउँछ। हाम्रो शरीरको मासु ७५ प्रतिशत जति पानीले बनेको हुन्छ। यसले मासुलाई खुम्चन र खुल्न सहयोग गर्छ। यदि शरीरमा पानीको मात्रा कम भएमा खुटृा पल्टने सम्भावना बढी हुन्छ। केही जलवियोजनका कारण पनि मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुटृा बाउँडिने गर्छ।

गर्भवती

गर्भवती महिलालाई पनि खुटृा पल्टने सम्भावना बढी हुन्छ। यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ। गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा  चाप दिन खुट्टा पल्टिने हुन्छ।

हाइपो थाइराइड

थाइराइड हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुटृा पल्टन सघाउँछ। थाइराइट हर्मोनको कमीले क्याल्सियम शोषण गर्न र प्रयोग गर्नमा असर पार्छ। क्याल्सियमको कमीले मासु कमजोर हुने, निदाउने र पल्टने हुन्छ। थाइराइड हर्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुने गर्छ तसर्थ कसरत गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुटृा पल्टने गर्छ।

अनियन्त्रित मधुमेह

मधुमेहले पनि खुट्टा पल्टिन सहयोग गर्छ। मधुमेहका बिरामीमा यस्तो हुनु नशा खराब भएको लक्षण हो। यसलाई मेडिकल भाषामा ‘डाइबिटिज निउरोप्याथी’ भनिन्छ। यो अनियन्त्रित मधुमेहले ल्याउने जटिलता हो। यसमा खुट्टा झम्झमाउने, खुटृामा केहीले छोएको थाहा नपाउने र खुटृा पल्टिरहने हुन्छ।

मध्यपानको प्रयोग

धेरै मध्यपानले हातखुटृाको नशा खराब गराउन सक्छ। यसलाई मेडिकल भाषामा अल्कोहोलिक न्युरोप्याथी भनिन्छ। खुटृा दुख्ने र पल्टने अल्कोहोलिक न्युरोप्याथीका प्रमुख लक्षण हुन्।

केही षधि

पिसाब लगाउने औषधि जसका कारण जलवियोजन हुन सक्छ र खुटृा फर्किने हुन्छ। त्यस्तै कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि, स्टेरोयड र परिवार नयोजनको लागि खाने चक्की आदिले पनि मासु बाउँडिने र पल्टिने गर्छ।

रोकथामका उपाय

१. प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने।

२. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।

३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।

४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।

५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।

६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।

७. खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।

८. पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।

९. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।

१०. पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।साभार :स्वास्थ्य खबर

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय