एजेन्सी— केही समययता दिल्लीमा नरेन्द्र मोदी सरकारको विरोध गरिरहेका तमिलनाडुका किसानहरुले बनारस लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध निर्वाचन लड्ने फैसला गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा वाराणसी तथा वडोदराबाट चुनाव लडेर दुवै ठाउँबाट जित दर्ज गरेका थिए । यसपटक उनी बनारसबाट निर्वाचन उठ्दै छन् । अर्कोतिर, तमिलनाडुबाट बनारस आएर निर्वाचन लड्ने फैसला गरेका १११ किसानका नेता पी. अय्याकन्नुले भने, ‘हामी ४ सय किसानले दिल्ली गएर १४० दिन विरेध प्रदर्शन गरेका थियौँ । २०१४ को निर्वाचनमा प्रधानमन्त्री मोदीले गरेको वाचा नै हाम्रो माग थियो ।’
त्यसैले उनीहरुले निर्वाचनका लागि भोट माग्दै हिँडेको र बनारसका गल्लीमा मागेर चुनाव खर्च उठाएको उनले बताएका छन् ।
पी. अय्याकन्नुले आफूहरुलाई कसैको पनि राजनीतिक समर्थन नभएको र मोदीविरुद्ध चुनाव जित्नै पर्छ भन्ने नसोचेको पनि बताएका छन् । उनले आफूहरु को र मोदी को हुन् भन्ने कुरा चाहिँ सबैलाई देखाउन निर्वाचनमा होमिएको बताएका छन् ।