नेपाल र चीनबीच क्रस बोर्डर रेलवेज सहितको नेपाल–चाइना ट्रान्स–हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कमा हस्ताक्षर भएको छ ।
चीनको राजधानी बेइजिङमा दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड फोरमको सम्मेलनका क्रममा उक्त परियोजनामा हस्ताक्षर भएको हो । सम्मेलनको क्रममा विश्वका शीर्ष नेताहरूको बैठक ‘लिडर्स राउन्ड टेबल’ पछि जारी ३८ बुँदे वक्तव्यको अनुसूची २३ मा उक्त परियोजना उल्लेख छ । सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुखको राउण्ड टेबलले ३८ बुँदे घोषणापत्र जारी गरेको थियो ।
३७ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको राउन्ड टेबलमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता थियो । सम्मेलनकै क्रममा नेपाल र चीनबीच यातायातसम्बन्धी समझदारीमा समेत हस्ताक्षर भएको छ । नेपालको चीनसँग बेल्ट एण्ड रोड इनर्जी पार्टनरसिप पनि कायम भएको छ । उक्त पार्टनरसिप चीनले नेपालसहित २८ देशसँग कायम गरेको छ ।
त्यस्तै राउन्ड टेबलले पारित गरेका बहुपक्षीय साझेदारीका परियोजना अन्तर्गत नेपाल ट्याक्स एडिमिनिस्ट्रेसनमा संस्थापक सदस्य हुँदै छ । नेपालले चीनसँग संयुक्त रूपमा बेल्ट एण्ड रोड गुणस्तरसम्बन्धी साझेदारीका लागि संयन्त्र बनाउने घोषणा पनि गरेको छ । उक्त घोषणा नेपाल सहित रुस, पाकिस्तान, मंगोलिया, लाओस, साउदी अरब, सिरिया र भियतनामका गुणस्तर मापन विभागहरूले गरेका छन् ।
सम्मेलनको अवसरमा नेपाल–चीनबीच संस्कृति आदानप्रदान तथा साझेदारी सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मन्तव्यकै क्रममा नेपालको जलवायु परिवर्तनमा चासो व्यक्त गर्दै नेपालको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूर्णता दिन चिनियाँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।