पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राती हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाँइले आत्महत्या गरेको ठाउँ नजिकै रगतमा लतपतिएको खुकुरी,लुगा र झोला भेटिएका छन्सोमबार राती मिक्लाजुङ्ग-३का बमबहादुर र उनका माइला ज्वाइँ धनबहादुरको परिवारका ९ जनाको हत्या भएको थियो। दुई परिवारको घर १५ मिनेटको पैदल दुरीमा छ। उक्त घटनापछि बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिम पनि आफ्नो गाउँभन्दा लगभग डेढ किलोमिटरको दुरीमा रहेको मलेदोको रूखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। माखिमको घर मिक्लाजुङकै ७ नम्बर वडामा पर्छ।
उनी झुण्डिएको ठाउँभन्दा २ सय मिटर जति वर रहेको भिरजस्तो ठाउँमा रगत लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएको प्रदेश १ का डिएसपी केदार रिजालले बताए।ससुरा र साढुभाइको परिवार मारेपछि मानबहादुर आफै झुण्डिएको प्रहरीले अनुमान गरेको छ।‘बमबहादुर फियाकका अर्का ज्वाइँ मानबहादुर माखिमले बमबहादुर र उनको घर नजिकै रहेको ज्वाइँ धनराज शेर्मा परिवारको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ ती उच्च प्रहरी अधिकारीले भने, ‘अन्य कुरा पछि खुल्दै जाला।’
वडाध्यक्ष हस्तराज फियाकको भनाइले पनि प्रहरीको आशंकालाई पुष्टी गर्छ।ज्वाइँ मानबहादुर -ससुरा बमबहादुरको मनमुटाव भएको वडाअध्यक्ष फियाकले बताए। उनका अनुसार, कान्छि छोरी र ज्वाँइको बारम्बार झगडा भएपछी बमबहादुरले मिलाउने कोसिस गरेका थिए। उनका अर्का ज्वाइँ धनराज शेर्माले पनि झगडा मिलाउन कोसिस गर्दै आएका थिए। तर, झगडा साम्य नभएपछि दुवैजना केही समय पहिलेदेखि अलग्गै बसिरहेका थिए। उनीहरूको घर मिक्लाजुङ्ग-७ मा पर्छ। घटनामा शेर्मा र फियाकको घरका नौ जनाको हत्या भएको हो। हत्या गरिएका ज्वाइँ-ससुराको घर पन्ध्र मिनेट पैदल दूरी फरकमा छ। शेर्माको घर फियाकको भन्दा दक्षिण पर्छ।हतियारधारी व्यक्तिले सोमबार मध्यरात पालैपालो दुवै परिवारलाई आक्रमण गरेको थियो। वडाध्यक्ष हस्तराज फियाकका अनुसार दुवै परिवार साधारण किसान हुन्।‘यो परिवारसँग बाहिरका मान्छे कसैको दुश्मनी थिएन भन्ने बुझेका छौं,’ फियाकले भने, ‘परिवारै सक्ने किसिमले हत्या भएको छ, यो परिवारसँग निर्मम हुनुपर्ने ठूलो कारण केही छैन।’
हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।
‘डिभोर्स’का कारण हत्या: प्रहरी
पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या ‘डिभोर्स’ का कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्षले देखाएको छ।घटनास्थल पुगेका प्रहरीले गरेको रिर्पोटिङको आधार, घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो।मानबहादुर र उनको श्रीमतीबीच पछिल्लो समय किचलो थियो। ‘उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘श्रीमतीलाई डिभोर्स गर्न सघाएको भन्दै मानबहादुरले साडु भाइ र ससुराको परिवार सबैलाई खसाप पारेको हुन सक्छ।’
पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्य मारेको बयान दिएकी थिइन्।प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन्।घटनास्थलमा छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ। प्रदेश नम्बर १ बाट पनि कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ।