सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विप्लप समुहले भक्तपुरको जग्गा कब्जा गर्यो कसैले प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी

भक्तपुर– सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित जग्गा कब्जा गरेपछि सन्त्रास छाएको छ। राज्यका विभिन्न निकायमा न्यायको लागि जाँदा कहीँकतैबाट पनि न्याय नपाएर पीडित निवेदकहरु कथित भूमाफियाबाट पीडित भएको प्रमाणित भएको भन्दै नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले जग्गा कब्जामा लिएको सार्वजनिक सूचना टाँस गरेको हो।

जग्गाका पूर्वधनी सुशीला जरेजू सुवालको पहिलो पतिका छोराहरु सरोज र मनोज भूमाफियाका कारण पीडित भएको भन्दै चाँगुनारायण नगरपालिका ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नगरपालिका १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको जग्गा कब्जा गरेको घोषणा गरेको हो। परिषद्ले जग्गामा सोमबार नेकपाको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका थियो। झण्डासँगै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन। अन्यथा जनपरिषद्ले कडा कारबाही गर्नेछ’ लेखिएको व्यानरसमेत दुईतिर खम्वा गाडेर झुण्डाइएको थियो। साथै व्यानरसँगै जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसपीको हस्ताक्षर रहेको जेठ २० गतेको प्रेस विज्ञप्तिसमेत टाँस गरी तल झुण्डाइएको थियो।

विज्ञप्तिमा जग्गा कब्जा गरिएको व्यहोरा उल्लेख छ। कब्जा गरिएको जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी विज्ञप्तिमा दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस भक्तपुर जिल्लाअन्तर्गत चाँगुनारायण नपा वडा नं. २ स्थित दुवाकोटमा कथित भूमाफियाहरुले अनपढ एकल महिलालाई अनेक प्रलोभन तथा दबाब दिई आफ्नै छोराहरुलाई सुकुमबासी बनाएपछि छोराहरुले राज्यका विभिन्न निकायमा न्यायको लागि जाँदा कहींकतैबाट पनि न्याय नपाएपछि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला जनपरिषद्को कार्यालयमा निवेदन पर्न आएकोमा हाम्रो जनपरिषद्बाट सो स्थानमा गई त्यहाँका समाजसेवी, बुद्धिजीवी र भद्रभलादमीहरुसँगको छलफलमा पीडित निवेदकहरु कथित भूमाफियाबाट पीडित भएको प्रमाणित भएको हुँदा आजको मितिबाट यो कित्ता नं. १७९७ को १–०–१–० जग्गा हाम्रो पार्टीको जिल्ला जनपरिषद्को कब्जामा रहेको सम्पूर्ण जनमानसमा सहर्ष जानकारी गराउँदछौं, उल्लेख छ। यदि यो जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिनेछ ’ उल्लेख छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय