काठमाडौँ, सुनधारास्थित ऐतिहासिक धराहराको नवनिर्माण कार्यको शिलान्यास यही विहीबार (पौष १२ गते) हुने भएको छ ।
धराहरा परिसरमै एक औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नवर्निर्माण कार्यको शिलान्यास गर्नुहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।
त्यस अवसरमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीलगायत करिब तीनसय जनाको सहभागिता रहने जानकारी उहाँले दिनुभयो । शिलान्यासपछि धराहरा निर्माणले थप गति लिने प्राधिकरणको विश्वास रहेको मनान्धरले बताउनुभयो ।
कूल ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहारा अबको दुई वर्षभित्र निर्माण भइसक्ने जानकारी उहाँले दिनुभयो । नयाँ डिजाइन अनुसार धरहराको लागत तीन अर्ब ४८ करोड रुपियाँ हुनेछ ।
अहिले धराहरा निर्माण क्षेत्रको चारैतिर ‘प्रोटेक्सन पाइलिङ’ काम, जग खन्ने काम भइरहेको जानकारी दिदै प्राधिकरणका सहसचिव मानन्धरले धराहरा क्षेत्रमा टेलिकमको अण्डरग्राउण्ड फाइबर, विद्युतका अण्डरग्राउण्ड केबल, खानेपानीको पाइप परेकाले निर्माण कार्य सोचेजस्तो अगाडि बढ्न नसकेको बताउनुभयो।
फाइबर, केवल र पाइपहरूका कारण निर्माण कार्यलाई अति सवधानीका साथ अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै उहाँले ती तार र पाइपहरूलाई सार्ने बन्दोबस्त भइरहेको जानकारी दिनुभयो । पाइप र तारकै कारण अहिले विस्तारै काम भइरहेको उहाँले बताउनुभयो । धराहरा परिसरभित्र जमिनमुनी टेलिफोनका २२ हजार तार विछ्याइएको छ ।
सुन्धारामा परिसरमा रहेका टक्सार विभाग पनि हस्ताणतरण गरिने बताउँदै उहाँले इतिहासलाई जीवन्त राख्ने उद्देश्यसहित अहिले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालगायतका ऐतिहासिक वस्तुहरूको सङ्ग्रहालय समेत निर्माण गरिने प्राधिकरणले जनाएको छ ।
विसं. २०७२ बैशाख १२ गते आएको भूकम्पमा पूर्ण रुपले क्षतिग्रस्त भएका धरोहरहरुको नवनिर्माण कार्य करिब एक महिना अगाडिदेखि नै सुरु भइसकेको छ ।