एजेन्सी – जापानको मन्त्रिपरिषद्ले नेपालसहित विभिन्न एशियाली देशबाट कामदारहरूलाई लैजान बाटो खोल्ने निर्णय गरेपछि नेपालीहरूमा जापानमा काम गर्ने वातावरणबारे जिज्ञासा बढेको छ।
जापानमा कार्यरत नेपालीहरूको अनुभव कस्तो छ र उनीहरू नेपालबाट रोजगारीका लागि जापान जान चाहनेहरूलाई यस्तो सल्लाह दिन्छन् l
कोपिला पाण्डे
गुल्मी, अहिले टोक्यो
नेपालबाट आउनेहरू जापानबारे धेरै बुझेर, भाषा सिकेर मात्र जापान आउनुहोला।
जापानमा मेहनत गरे पैसा कमाउन सकिन्छ। तर तपाईँले मेहनत भने धेरै गर्नुपर्छ।
म टोक्योको आशागयामा बस्छु। पाँचतारे होटेलमा काम गर्छु। मलाई फुर्सद नै हुँदैन।
म बिहान ७ बजे कोठाबाट हिँड्छु। दिनभरि र साँझभरि काम गरेर घर फर्किँदा रातको १२ बज्छ।
नेपालबाट जापान आउन चाहनेहरूले धेरै जानेर, बुझेर, सोधपुछ गरेर आउनुहोला।
लक्ष्मी सुवेदी सापकोटा![]()
भरतपुर, अहिले सिन्जुकु
म जापान आएको १४ वर्ष भयो।
तपाईँ जापान आउने विचार गर्दै हुनुहुन्छ भने जापानी भाषा पढेर सिकेर आउनु होला। नेपालमा काम गरेको अनुभव र सीप भयो भने तपाईँलाई राम्रो हुन्छ।
जापानी भाषा र देशको बारेमा अध्ययन गरेर आउनु भयो भने एकदम राम्रो छ।
काम त्यति गाह्रो छैन। तलब, सुविधा राम्रै हुन्छ। यहाँ घण्टाको हिसाबले पनि ज्याला दिने गरिन्छ।
यहाँ कसैकसैले एकदमै दु:ख पनि पाएका छन्। तर मेहनतअनुसार फल पाउनेहरू धेरै छन्।
जापान सरकारले सबै कामदारलाई राम्रै व्यवस्था गरेको छ जस्तो लाग्छ।
शिव तण्डुकार![]()
मैतीदेवी, अहिले टोक्यो
म जापान आएको १३ वर्ष भयो।
म सुरुमा जापानी भाषाको विद्यार्थीको रूपमा आएको थिएँ। दुई वर्ष भाषा पढेपछि चार वर्ष विश्वविद्यालयमा अध्ययन गरेँ।
अहिले म ट्राभल एजेन्सीमा काम गर्दैछु।
जापान नेपालीहरूको लागि अवसरको देश भनेर चिनिन्छ।
यदि जापान आउने र यहाँ सङ्घर्ष गर्ने विचार गर्दै हुनुहुन्छ भने सीप सिकेर आउनुहोला।
यदि खाना पकाउने कुकको रूपमा आउन चाहनुहुन्छ भने पहिला परिकारहरू बनाउन सिपालु बन्नुहोस्।
अर्को महत्त्वपूर्ण कुरा भनेको भाषा हो। यहाँ नेपाली बुझ्दैनन्, अङ्ग्रेजी पनि बुझ्दैनन्।
तपाईँले जापानी भाषा सिक्नुभयो भने तपाईँको जापान बसाइ सुखद हुनेछ। जापानी भाषा जान्नुभएन भने धेरै गाह्रो हुन्छ।
अच्युत लोहनी![]()
थानापती, हाल टोक्यो
म चार वर्षअघि विद्यार्थी भिसामा जापान आएको हुँ।
नौलो परिवेश, नौलो ठाउँ – भाषा नजान्दा धेरै समस्या भयो।
जापानीहरूले विदेशीहरूलाई अझ नेपालीहरूलाई हेर्ने सन्दर्भमा सकारात्मकसँगै नकारात्मक कुराहरू पनि छन्।
हाम्रो रहनसहन र शैली फरक छ। यहाँ आउने कतिपय नेपालीहरूको व्यवहारले गर्दा अलिअलि समस्याहरू पनि छन्।
हामी विद्यार्थी भिसामा आउने हुनाले केही सहज छ।
जापानीहरूसँगै काम गर्दा दु:ख हुन सक्छ। तर पनि विभिन्न कुराहरूले गर्दा भविष्य त्यति राम्रो छैन। भिसा कहिलेसम्मलाई हुने हो त्यसको पनि ठेगान हुँदैन।
काम गाह्रो खालको हुन्छ। कमाइको कुरा गर्दा काम हेरेर हुन्छ। विद्यार्थी हुँदा ठिकै हुन्छ।
अलि दु:ख गर्ने विद्यार्थीले तीन लाख रुपैयाँसम्म एक महिनामा कमाउँछन्। कम दु:ख गर्नेले दुई लाखजति कमाउँछन्। कुकहरूको डेढ लाख हुन्छ। हामीले थोरै कमाउँछौँ।
कर र बीमामा पैसा तिर्नुपर्छ। पैसा बचाउन गाह्रो छ। साभार :बीबीसी नेपाली